दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

डिसी नेपाल
१७ चैत २०८२ १४:१८
84
Shares

दुबई। संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ।

करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट चीनको छिङदाओतर्फ जाँदै गर्दा दुबईको जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो। आगलागीका कारण जहाजको बाहिरी संरचना (हल) मा क्षति पुगेको छ भने सम्भावित तेल चुहावटको जोखिमबारे चिन्ता व्यक्त गरिएको छ।

दुबईका सम्बन्धित निकायका अनुसार आपतकालीन टोलीहरूले तत्काल उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गर्दै आगो निभाएका हुन्। जहाजमा सवार सबै २४ जना चालकदल सदस्य सुरक्षित रहेको र कुनै घाइते नभएको जनाइएको छ।

यसैबीच, कुवेत पेट्रोलियम कर्पोरेसनले प्रारम्भिक जानकारी दिँदै उक्त ट्यांकर इरानी आक्रमणबाट प्रभावित भएको दाबी गरेको छ, जसका कारण जहाजमा आगलागी भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। घटनासँगै सोमबार साँझदेखि मंगलबार बिहानसम्म दुबई क्षेत्रमा ठूला विस्फोटजस्ता आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुबई प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र आवश्यक कदमहरू चालिरहेको जनाएको छ । साथै, परिस्थितिबारे थप विवरण क्रमशः सार्वजनिक गरिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *