अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन
काठमाडौं। अर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन्।
गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन्।
निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’
कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पूराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे। नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ, तर त्यसको अर्थ छाडापन होइन, नियमनकारी भूमिका पनि सशक्त रहन्छ।’ भन्दै निजी क्षेत्रलाई भरोसा दिलाउने काम गरेका थिए। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस्तै, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गरिने अर्थमन्त्रीको योजना छ। यससँगै निर्वाचन वाचा कार्यान्वयनका लागि १०० दिने योजना, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना निर्माण गरिने जनाइएको छ।त्यसैगरी, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस गरिएका व्यवस्थाहरू कार्यान्वयनतर्फ सरकार अघि बढ्ने भएको छ।
राजस्व संकलनमा कडाइ र भन्सार अनुगमन
राजस्व लक्ष्य प्राप्तिमा देखिएको चुनौती चिर्न मन्त्री वाग्ले आफैँ मैदानमा उत्रिएका छन्। उनले भन्सार विभागको आकस्मिक अनुगमन गर्दै कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्। राजस्व संकलनमा सुधार ल्याए प्रोत्साहनका कार्यक्रम ल्याउने तर बेइमानी गरे निर्मम भएर दण्डित गर्ने उनको चेतावनी छ।राजस्व संकलनमा प्रधानमन्त्री कार्यालयले समेत विशेष चासो राखेको भन्दै उनले कर्मचारी संयन्त्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।
उच्चस्तरीय समन्वय र चुहावट नियन्त्रण
बिहीबार अर्थमन्त्री वाग्लेले गृह प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक गर्दै राजस्व चुहावट नियन्त्रणमा कडा कदम चाल्ने निर्णय गरेका थिए। गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसहितको उक्त बैठकमा सीमा नाकाबाट हुने चोरी पैठारी र तस्करी नियन्त्रण गर्न एकीकृत कार्ययोजना बनाउने सहमति भएको छ।
बजेट लेखन समिति गठन
आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ। सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्री वाग्लेबाट संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो।
यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ। यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ।
वीरगन्ज नाकाको स्थलगत निरीक्षण
आफ्नो सक्रियतालाई थप गति दिँदै शुक्रबार अर्थमन्त्री वाग्ले देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज पुगेका थिए। आन्तरिक राजस्व कार्यालय र वीरगन्ज भन्सारको निरीक्षण गर्दै उनले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र लाइनमा नराख्न निर्देशन दिएका थिए। लक्ष्यभन्दा बढी राजस्व संकलन गर्नुपर्ने दबाबमा रहेका कर्मचारीहरूलाई उहाँले व्यावसायिक र पारदर्शी ढंगले काम गर्न सचेत गराए।
अर्थमन्त्रीका रूपमा डा. वाग्लेको पहिलो साताले राज्य संयन्त्रमा नयाँ उत्साह र निजी क्षेत्रमा सकारात्मक आशा जगाएको छ। नीतिगत गाँठो फुकाउने, कर्मचारीलाई जबाफदेही बनाउने र ठुला व्यवसायीदेखि साना उद्यमीसम्मलाई ‘गरिखाने’ वातावरण बनाउने उनको सुरुआती कदमले आगामी बजेट र आर्थिक सुधारको दिशा कस्तो हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ।
यद्यपी, पश्चिम एशियामा जारी इरान र इजरायल बिचको द्वन्द्व कारण देशभित्र बढ्दै गएको महंगी र मूल्यवृद्धिका बारेमा भने अर्थमन्त्री वाग्लेले हालसम्म कुनै चासो देखाएको देखिदैन्। खाना पकाउने एलपी ग्यासको अभाव, पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि कारण आम उपभोक्ताको ढाड सेकीरहेको अवस्थामा उपभोक्तालाई कसरी राहत दिने भन्ने बारेमा भने अर्थमन्त्रीको ध्यान खिच्न सकेको छैन्।







डिसी नेपाल







Facebook Comment