विद्युतीय कारको आयात घट्दा इन्धन सवारीको बढ्यो, मोटरसाइकलको आयातमा भने उछाल

डिसी नेपाल
८ असार २०८३ १६:२८

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालमा विद्युतीय कारको आयातमा कमी आएको छ भने इन्धनबाट चल्ने सवारी साधनको आकर्षण बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सवारी साधनको आयातमा मिश्रित प्रवृत्ति देखिएको हो।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा कुल १५ हजार ४६६ युनिट कार, जिप र भ्यान भित्रिएका छन्। गत वर्षको सोही अवधिमा १७ हजार २७२ युनिट सवारी साधन आयात भएका थिए। यसरी तुलना गर्दा यस वर्ष कुल आयातमा १ हजार ७८६ युनिटले गिरावट आएको छ।

विशेषगरी विद्युतीय कार (ईभी) को आयातमा यस वर्ष संकुचन देखिएको छ। ११ महिनाको अवधिमा २५ अर्ब ६८ करोड रूपैयाँ बराबरका १० हजार ८९२ युनिट इभी कार आयात भएका छन्। गत वर्षको सोही अवधिमा १३ हजार ४९२ युनिट इभी कार भित्रिएका थिए। यस वर्ष इभीको आयात २ हजार ६०० युनिटले घटेको छ। विद्युतीय सवारीको यही आयातबाट सरकारले १५ अर्ब ५३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

इभीको आयात घटिरहँदा पेट्रोल तथा डिजेलबाट चल्ने कारको आयात भने वृद्धि भएको छ। ११ महिनाको अवधिमा ४ हजार ५७४ युनिट इन्धन कार आयात भएका छन्, जुन गत वर्ष सोही अवधिमा ३ हजार ७६१ युनिट मात्र थिए। आयात भएका इन्धन कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल अवस्थामा भित्रिएका हुन्।

यद्यपि, दुई पांग्रे सवारी साधनको हकमा भने बजारले उत्साहजनक गति लिएको छ। उक्त अवधिमा पेट्रोल र विद्युतीय गरी कुल २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जुन गत वर्षको तुलनामा ६३ हजार ७५५ युनिटले बढी हो।

पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर २९ अर्ब ९० करोड १० लाख रूपैयाँ बराबरको २ लाख २७ हजार ९४१ युनिट भित्रिएका छन्। यसबाट सरकारले २८ अर्ब ९३ करोड ३० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। कुल आयातमध्ये २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल र ४३ हजार ९३४ युनिट तयारी अवस्थाका मोटरसाइकल रहेका छन्।

त्यस्तै, विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ। ११ महिनामा २ अर्ब २९ करोड ७१ लाख रूपैयाँ बराबरका २२ हजार २४० युनिट विद्युतीय दुई पांग्रे सवारी आयात भएका छन्।

गत वर्ष सोही अवधिमा १० हजार ५५१ युनिट मात्र आयात भएका थिए। यसरी यस वर्ष ११ हजार ६८९ युनिट बढी विद्युतीय दुई पांग्रे सवारी भित्रिएका हुन्। विद्युतीय दुई पांग्रेको आयातबाट सरकारले ८० करोड ४४ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *