श्रावणमा असुलिएको विद्युत् भ्याट भदौको बिलमा समायोजन गरिने, प्राधिकरणद्वारा अन्योल अन्त्य

डिसी नेपाल
१२ साउन २०८३ ८:०५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी देखिएको अन्योल अन्त्य गर्दै श्रावण महिनामा ग्राहकबाट असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गर्ने निर्णय गरेको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै श्रावण महिनामा विद्युत् महसुलसँगै असुल गरिएको भ्याट रकम ग्राहकको भदौ महिनाको बिलमा स्वतः समायोजन गरिने जनाएको हो। यस निर्णयसँगै हाल देखिएको कर सम्बन्धी अन्योल हट्ने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार आर्थिक ऐन, २०६३ बमोजिम विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्था रहेकाले नेपाल विद्युत् प्राधिकरण २०८३ साल श्रावण १ गतेदेखि औपचारिक रूपमा भ्याटमा दर्ता भएको हो। सोही व्यवस्थाअनुसार श्रावण १ गतेपछि जारी गरिएका मासिक विद्युत् महसुलका बिलमा भ्याट समावेश गरिएको थियो।

तर, २०८३ साल असार ३२ गतेसम्मको विद्युत् खपतको बिल श्रावण १ गते वा त्यसपछि प्राप्त भए पनि उक्त खपत श्रावणअघि भएकाले त्यसमा भ्याट लाग्ने वा नलाग्ने विषयमा ग्राहकबीच अन्योल उत्पन्न भएको थियो।

प्राधिकरणले स्पष्ट पारेअनुसार आर्थिक ऐन, २०८३ को अनुसूची–१ समूह २ अन्तर्गत विद्युत् शक्तिलाई आवश्यक वस्तुका रूपमा समावेश गरिएको छ। त्यसैले श्रावण १ गतेअघि भएको विद्युत् खपतमा भ्याट नलाग्ने कानुनी व्यवस्था रहेको जनाएको छ।

यही व्यवस्थालाई कार्यान्वयन गर्दै श्रावण महिनामा त्यस्ता बिलमा असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको विद्युत् महसुल बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। यसका लागि ग्राहकले छुट्टै निवेदन दिनु नपर्ने र समायोजन प्रक्रिया स्वचालित रूपमा हुने अपेक्षा गरिएको छ।

प्राधिकरणले ग्राहकलाई विद्युत् महसुल सम्बन्धी कुनै अन्य जिज्ञासा वा समस्या भए सम्बन्धित वितरण केन्द्रमार्फत जानकारी लिन पनि आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *