लमजुङमा पहिरोले धन्सार घर पुरिँदा बुबा–छोरीको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
१२ साउन २०८३ ८:३५

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा मंगलबार बिहान गएको पहिरोले धन्सार घर पुरिँदा बुबा र छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार बिहान करिब २:३० बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

पहिरोमा पुरिएर ५१ वर्षीय टिकाबहादुर बिक र उनकी १५ वर्षीया कान्छी छोरी बिनिता बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, टिकाबहादुरकी ५० वर्षीया श्रीमती सुकमाया बिक र १६ वर्षीया जेठी छोरी अस्मिता बिक घाइते भएका छन्। उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *