सम्भावित ‘अर्नव’ चक्रवातको प्रभाव: उच्च सतर्कता अपनाउन टानको आग्रह
काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले बङ्गालको खाडीमा विकसित ‘अर्नव’ चक्रवातबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकहरूलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै टानले कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरेको उक्त चक्रवातको प्रभाव कात्तिक १२ गते रातिदेखि नेपालमा पनि देखिने जनाएको छ।
विशेष गरी कात्तिक १३ र १४ गते चक्रवातका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले टानले सतर्क रहन भनेको छ।
टानले आफ्ना सदस्य कम्पनी, गाइड, सहयोगी र पर्यटकहरूलाई सम्भावित प्रभावबारे समयमै जानकारी गराएर आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। आपत्कालीन अवस्था वा मौसमसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर १११५ तथा विपद्मा सहयोगका लागि ०१२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।
कात्तिक १३ र १४ गते घोराड, लार्के, काड्ला, सारीबुँद, छोला, सूर्यकुण्डलगायतका आधार शिविर र तिलिचोलगायत उच्च क्षेत्रका पर्यटकीय गन्तव्यहरूमा रहेका पदयात्रीहरूलाई कात्तिक १२ गतेबाटै पदयात्रा रोकी सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। पर्वतारोहणका लागि आधार शिविरतर्फ जाने क्रममा रहेका सदस्य तथा सहयोगीहरूलाई आगामी शुक्रबार र शनिबारसम्मका लागि यात्रा रोक्न वा सुरक्षित स्थानमा बस्न भनिएको छ।
यसैगरी, मध्य तथा उच्च पहाडी क्षेत्रका नदीतटीय इलाका, बाढीको जोखिम भएका खोलानाला र पहिरो संवेदनशील क्षेत्र आसपास नबस्न र हिँडडुल नगर्न सचेत गराइएको छ।
टानका अध्यक्ष सागर पाण्डेले बाढी तथा पहिरिपछि अस्थायी रूपमा मर्मत गरी प्रयोगमा ल्याइएका विभिन्न पदमार्गहरूमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
विशेष गरी मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला र नामरुङ, मनाङ क्षेत्रको खोत्रो, कोटो र चामे, तथा म्याग्दी र मुस्ताङ क्षेत्रको पोखरेलगायतका सडक, पदमार्ग र अस्थायी पुलहरू भएर यात्रा गर्दा सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment