आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएको छ। ३०५ पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको सङ्ख्या ५० पुगेको हो।
चार वर्षअघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको सङ्ख्या ३६ रहेकामा गत चैतमा गरिएको सर्वेक्षणमा उक्त सङ्ख्या बढेर ५० पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घासेमैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाँटामा पाटेबाघको सङ्ख्यामा वृद्धि भएको बताए।
“निकुञ्जमा हाल एक वर्ग किलोमिटरमा ११३ वटा आहारा प्रजाति उपलब्ध छन्”, संरक्षण अधिकृत वाग्लेले भने, “यहाँ चोरीसिकारी शून्य छ। निकुञ्जभित्र पानीको उपलब्धता पनि प्रशस्त भएकाले बाघको सङ्ख्या बढेको हो।” राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ थिए। निकुञ्ज कार्यालयका अनुसार २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ बाघको सङ्ख्या ३६ पुगेको थियो।
निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गरिएको गणनाअनुसार यसवर्ष बाघको सङ्ख्या बढेर ५० पुगेको हो। निकुञ्जभित्र रहेका रानी ताल, बाबा ताल, चौधर नदी र महाकाली नदी वन्यजन्तुका लागि पानी पिउने प्रमुख स्रोत बनेका छन्। यसबाहेक निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा कृतिम पोखरी निमार्ण गरेको छ।
राष्ट्रिय निकुञ्जमा बाघको मुख्य आहारका रूपमा चित्तल, जरायो, रतुवा, जङ्गली बँदेललगायत वन्यजन्तु रहेका निकुञ्जका संरक्षण अधिकृत वाग्लेले जानकारी दिए। “यी आहारा प्रजातिको सङ्ख्या र घनत्व पर्याप्त हुँदा बाघलाई आवश्यक आहारा जङ्गलमा उपलब्ध हुने भएकाले आहारा खोज्नुपर्ने अवस्था कम छ। सोही कारणले शुक्लाफाँटामा थोरै क्षेत्रफलमा पनि बाघको सङ्ख्या धेरै छ”, उनले भने।
शुक्लाफाँटाको विशेषता यहाँको विशाल घाँसेमैदान पनि हो। यहाँका फाँटमा चित्तललगायत शाकाहारी वन्यजन्तुका लागि प्रशस्त घाँस तथा पानीको उपलब्धता छ। शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जानु सुखद पक्ष भएपनि यसले व्यवस्थापनमा चुनौती थपेको निकुञ्जका संरक्षण अधिकृत वाग्लेले बताए।
बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रसँग जोडिएका मानव बस्तीमा आवतजावत बढ्न सक्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताउनुभयो। “बुढो बाघ बस्तीतर्फ आउने जोखिम हुन्छ, त्यसका लागि समुदायलाई तयार पार्नुपर्छ”, उनले भने, “शुक्लाफाँटामा बढेका बाघ देखाएर यहाँका नागरिकलाई पर्यापटनमार्फत रोजगारीतर्फ जोड्न सकिन्छ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात भएकाले यसको प्रचारप्रसार गरी पर्यटनबाट लाभ लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन। “महाकाली नदीमा पक्की पुल बनिसकेको छ पारीपट्टि सुक्खा बन्दरगाह निमार्ण हुँदैछ”, व्यवसायी गणेश भट्टले भने, “यो नाका सञ्चालनमा आए भारतका उत्तराखण्डका पर्यटकीय क्षेत्र घुम्न आएका विदेशी पर्यटक यहाँ आउन सक्छन। त्यसकारण शुक्लाफाँटाको प्रचारप्रसारमा जोड दिन आवश्यक छ।”
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन्। निकुञ्ज कार्यालयका अनुसार ५६ प्रजातिका घस्रने वन्यजन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यहाँ छन्। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि यहाँ पाइन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment