पहिलोपटक विराटनगरमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ हुँदै

डिसी नेपाल
२६ साउन २०८३ ९:०८

विराटनगर। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित अत्याधुनिक स्मार्ट सुरक्षा प्रविधिबारे जानकारी दिने उद्देश्यले पहिलोपटक विराटनगरमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।

विश्वकै अग्रणी सुरक्षा प्रविधि कम्पनी हिक भिजनले आगामी साउन ३१ गते मोरङको विराटचोकमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो–कोशी एडिसन’ आयोजना गर्न लागेको हो । काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक आयोजना हुन लागेको उक्त प्रदर्शनीको नेपालमा हिक भिजन तथा इजभिजका राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिले समन्वय गर्नेछ ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङद्वारा जारी विज्ञप्तिअनुसार प्रदर्शनीमा हिक भिजनका अत्याधुनिक तथा नवीनतम सुरक्षा प्रविधि, स्मार्ट सुरक्षा प्रणाली र एआईमा आधारित विभिन्न समाधानहरू प्रदर्शन गरिनेछन् । एआईमा आधारित स्मार्ट सुरक्षा प्रणाली प्रदर्शनीको मुख्य आकर्षणका रूपमा रहनेछ ।

प्रदर्शनीमा होम एन्ड स्मल बिजनेस, सेक्युरिटी इन्टेलिजेन्स, ट्राफिक सोलुसन्स, प्रोफेसनल अडियो सोलुसन्स, डिस्प्ले, एडभरटाइजिङ एन्ड एजुकेसन सोलुसन्स, अलार्म सेफ्टी सोलुसन्स, हिक भिजन सफ्टवेयर, नयाँ प्रविधिमा आधारित उत्पादन तथा इजभिज वायरलेस होम सेक्युरिटीलगायतका उपकरण तथा प्रविधिहरू राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सहभागीहरूले अत्याधुनिक सुरक्षा प्रविधिका उपकरण प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै तिनको प्रयोग, क्षमता र सम्भावनाबारे जानकारी लिन सक्नेछन् । त्यस्तै, प्रविधिसम्बन्धी सिकाइ, विज्ञसँग परामर्श तथा अनुभव आदानप्रदान गर्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका अध्यक्ष तथा कार्यकारी व्यवस्थापक मनिकुमार तामाङले प्रदर्शनीमार्फत नेपालमा स्मार्ट सुरक्षा प्रविधिको विकास, यस क्षेत्रमा भइरहेको परिवर्तन र नयाँ सम्भावनालाई प्रत्यक्ष रूपमा बुझ्ने महत्वपूर्ण अवसर प्राप्त हुने बताए ।

उनका अनुसार कोशी प्रदेश महत्वपूर्ण व्यापारिक तथा औद्योगिक क्षेत्र भएकाले यहाँका सरकारी निकाय, व्यवसाय, उद्योग, घरपरिवार, शैक्षिक संस्था तथा अन्य क्षेत्रमा स्मार्ट सुरक्षा प्रविधिको प्रयोग र सम्भावनाबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

तामाङले सरकारसँगको सहकार्यमा कोशी प्रदेशलाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न चाहेको बताए । नवीनतम सूचना प्रविधि तथा सुरक्षा प्रणालीको अधिकतम प्रयोगलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे जानकारी र छलफलका लागि प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

“हामी सरकारसँगको सहकार्यमा कोशी प्रदेशलाई सूचना प्रविधिको हबका रूपमा विकसित गर्न चाहन्छौँ । नवीनतम सूचना प्रविधि तथा सुरक्षा प्रणालीको अधिकतम अवलम्बनलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रदर्शनी आयोजना गरेका हौँ,” तामाङले भने, “यो प्रदर्शनी सरकारी नीति निर्माता, उद्यमी, व्यवसायी तथा आम उपभोक्ताका लागि साझा जानकारीको महत्वपूर्ण मञ्च हुने विश्वास लिएका छौँ ।”

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका व्यवस्थापन निर्देशक प्रमोद अधिकारी र निर्देशक कमल तामाङले हिक भिजनका एआईमा आधारित आधुनिक सुरक्षा प्रणाली तथा एकीकृत नवीनतम प्रविधिहरूलाई एउटै स्थानमा प्रदर्शन गरिने जानकारी दिए ।

आयोजकका अनुसार प्रदर्शनीले कोशी प्रदेशमा स्मार्ट सुरक्षा प्रविधिको प्रयोग विस्तार गर्न, प्रविधिसम्बन्धी जनचेतना बढाउन तथा सरकारी, व्यावसायिक र निजी क्षेत्रमा आधुनिक प्रविधिको उपयोगबारे छलफल र सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *