सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले

डिसी नेपाल
२५ साउन २०८३ १७:४६

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन्। अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्नेसमेत बताए। मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि ‘होल अफ द नेशन’ (एकीकृत राष्ट्रिय दृष्टिकोण) आवश्यक रहेको स्पष्ट पारे।

सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभइ विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उनको भनाइ छ। उद्योगले कमाउने नाफाले पुनस् लगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरे।वैधरूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरे।

सो अवसरमा अर्थमन्त्रीले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गरे। सरकारले विगतका समस्याहरूलाई सच्याउँदै लगानीमैत्री वातावरण बनाउन विशेष छुट र सुविधाहरू समेत घोषणा गरेको उनले स्मरण गराए।

‘चालु आर्थिक वर्षको बजेटमार्फत हामीले स्पष्ट सन्देश दिएका छौँ कि सरकारको प्राथमिकता केवल कर संकलन मात्र होइन। हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनर्लगानीको चक्रलाई तीब्र बनाउनु हो। नेपालमा वैधरूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो। लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठूलो लगानी आउन सक्दैन’ अर्थमन्त्री वाग्लेले भने। छलफलका क्रममा उनले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार र कानूनी प्रक्रियामा रहेका व्यवधानहरूबारे व्यवसायीहरूको प्रत्यक्ष अनुभव र सुझाव माग गरे। सरकारले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरी समाधानको ठोस कार्यसूची (एक्सन प्लान) बनाएर अघि बढ्ने उनले जानकारी दिए। कार्यक्रममा सहभागी उद्यमीहरूले लगानीका अवरोध र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए। अर्थमन्त्री वाग्लेले प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै सरकार व्यवसायीहरूको मनोबल उच्च बनाउन प्रतिवद्ध रहेको बताए।

अर्थमन्त्री वाग्लेल सँग सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एअरलाइन्स् प्रालि, होड्शी शिवम् सिमेन्ट प्रालि, इसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल प्रालि, वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्टस (नेपाल) प्रालि, पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि, गोर्खा लाहारी प्रालि, वासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेश नेपाल प्रालि, नेपाल वेलहोप एग्रि टेक प्रालि, वरुण विभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्राली र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिका प्रतिनिधि छलफलमा सहभागी रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *