परराष्ट्रमन्त्री खनालद्वारा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलन २०२६ को प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको संरक्षणलाई विश्वकै साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट अनुमानित ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गर्दै मन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली जोखिममा रहेको बताए। उनले जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रारम्भिक निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।
आगामी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा नेपालले हिमाली क्षेत्रलाई विशेष प्राथमिकता दिने, क्षति तथा नोक्सानीसम्बन्धी सहायता कार्यान्वयन गर्ने, सहज रूपमा जलवायु वित्त उपलब्ध गराउने र जलवायु न्याय सुनिश्चित गर्ने विषय उठाउने उनले बताए।
मन्त्री खनालले जलवायु वित्त अनुदानमा आधारित, नियमित र सहज पहुँचयोग्य हुनुपर्नेमा जोड दिँदै ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणाअनुसार राष्ट्रिय स्तरमा समन्वय गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साझा आवाज बलियो बनाउनुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment