पार्टीभन्दा पहिले देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ : कांग्रेस वरिष्ठ उपसभापति शर्मा

डिसी नेपाल
१२ कार्तिक २०८३ १७:२४
4
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा पहिले देशलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई दृढ आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधनका क्रममा शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको पदभार ग्रहण गर्दै गर्दा ‘कांग्रेसभन्दा पहिले देश’ भन्ने उच्च सिद्धान्त र मनोविज्ञानलाई पूर्ण रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।

उनले आधुनिक, समयसापेक्ष रूपमा बदलिएको र सबल कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको निर्माण गर्ने यात्रामा अगाडि बढ्न सबै पदाधिकारी तथा सदस्यहरूको समान र गम्भीर जिम्मेवारी रहेको उल्लेख गरे।

संस्थागत रूपमा, स्वाभिमानपूर्वक र सभापतिले तयार गर्ने स्पष्ट कार्ययोजनाअनुसार तोकिएको भूगोल तथा जिम्मेवारीको दायरामा रहेर इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो। आफूलाई पार्टीले सुम्पिएको जिम्मेवारी अनुसारको कार्यभार समयमै सम्पन्न गरी केन्द्रीय कार्यालयमा विधिवत् रूपमा प्रतिवेदन बुझाउनुपर्ने उनले बताए।

नेता शर्माले पार्टी र नेतृत्वमाथि उठ्ने रचनात्मक आलोचना तथा प्रश्नहरूलाई सधैँ सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै पनि गलत कुराको खण्डन गर्दा स्वस्थ, मर्यादित र विधिसम्मत प्रक्रिया मात्रै अपनाउनुपर्ने उनको स्पष्ट धारणा थियो।

वरिष्ठ उपसभापति शर्माले वर्तमान समयमा परिवर्तनसँग जोडिएका गम्भीर चुनौतीहरूको सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी र समन्वयात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति गगन थापाको कुशल नेतृत्वमा संस्थागत, व्यवस्थित र प्रभावकारी टिमका रूपमा एकजुट भएर अगाडि बढ्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *