अर्नब चक्रवातको प्रभाव: नेपालका मुख्य राजमार्गहरूमा पहिरो र बाढीको उच्च जोखिम, यात्रा नगर्न अपिल

डिसी नेपाल
१२ कार्तिक २०८३ १४:५९

काठमाडौं। बङ्गालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका मुख्य राजमार्गहरू गम्भीर रूपमा प्रभावित हुने भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रमुख राजमार्गहरूमा प्रारम्भिक पहिरो जोखिम आकलन तथा विशेष पूर्वसूचना जारी गरेको छ।

जारी सूचना अनुसार चक्रवात अर्नबको प्रभावले आगामी केही दिनमा विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा तिनका आसपासका क्षेत्रमा भारी वर्षा भई राजमार्गहरूमा पहिरोको जोखिम अत्यधिक बढेको छ।

पहाडी तथा भिरालो भूबनोट भएका राजमार्ग खण्डहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक भासिने सम्भावना रहेको छ भने नदी किनारका सडक खण्डहरूमा जलसतह बढेर बाढी तथा कटानको जोखिम हुनेछ।

साथै सानाठूला खहरे खोला र कल्भर्टमा पानीको बहाव बढेर सडक संरचनामा क्षति पुग्ने र यसले यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुहरूको ढुवानीसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

विशेषगरी नारायणगढ-मुग्लिन सडक खण्ड, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्डहरू उच्च जोखिममा रहेका छन्।

सम्भावित विपद्बाट बच्न बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले अत्यावश्यक बाहेकको अवस्थामा वर्षाको समयमा यी राजमार्गहरूमा यात्रा नगर्न अपिल गरेका छन्। यदि यात्रा गर्नैपरेमा सम्बन्धित ट्राफिक वा सडक कार्यालयबाट पूर्वसूचना र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *