कांग्रेस इतर समूहको १५औं महाधिवेशन: ९० निर्वाचन क्षेत्रको अधिवेशन सकियो
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरिरहेको १५औं महाधिवेशनअन्तर्गत अहिलेसम्म करिब ९० प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ।
उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार अहिलेसम्म ९० वटा क्षेत्रीय र एकल निर्वाचन क्षेत्र रहेका नौ वटा जिल्लाको जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ।
“कात्तिक १५ गतेका लागि तय गरिएको जिल्ला अधिवेशनअघि नै नौ जिल्लाको अधिवेशन सकिइसकेको छ,” नेता पौडेलले भने, “कात्तिक १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सम्पन्न हुनेछ र तय भएबमोजिम नै मङ्सिर ४ गते सातै प्रदेशको अधिवेशन आयोजना गरिनेछ।”
संस्थापन इतर समूहले मङ्सिर २१ देखि २३ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका स्वीकृत गरेर तीव्रताका साथ काम अघि बढाएको छ। उक्त तालिका अनुसार असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन तोकिएको थियो।
अधिवेशनको माहौलबारे टिप्पणी गर्दै युवा नेता भरत खड्काले देशभर निकै उत्साहका साथ अधिवेशन भइरहेको बताएका छन्। “तल्लो तहदेखिकै अधिवेशनमा युवा पुस्ताको सहभागिता र आकर्षण उत्साहजनक छ,” खड्काले भने, “अग्रजहरूलाई सम्मानजनक स्थान दिँदै नयाँ नेतृत्वमा युवाहरू आउनाले पार्टीमा नयाँ ऊर्जा र जागरण थपिएको छ।”
यसअघि गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको भए पनि इतर समूहले भने समानान्तर रूपमा छुट्टै नियमित महाधिवेशनको तयारी थालेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई पक्षमा विभाजित बनेको कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद हालसम्म सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधानिकतामाथि पुनः परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएपछि इतर समूह उत्साहित बन्दै नियमित महाधिवेशनको प्रक्रियामा होमिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक तोकेर महाधिवेशनको तयारी तीव्र बनाएको इतर समूहले चाँडै अन्य विभिन्न उपसमितिहरू समेत गठन गर्ने तयारी गरेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी आफ्ना समानान्तर राजनीतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment