निर्माताको लगानी सुरक्षित गर्ने र दर्शक सन्तुष्ट पार्ने हाम्रो लक्ष्य हो: दीपकराज गिरी
काठमाडौं। अभिनेता तथा निर्माता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने मुख्य उद्देश्यका साथ आफूहरूले फिल्म निर्माण तथा अभिनय गर्दै आएको बताएका छन्।
बडादसैँलाई लक्षित गरी गत असोज ३१ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको फिल्म ‘छ माया छपक्कै २’ ले घरेलु बक्स अफिसमा अपेक्षा गरेअनुसारको व्यापार गर्न नसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता गिरीले यस्तो धारणा राखेका हुन्। आफ्ना अघिल्ला अनुभवहरू साट्दै उनले राम्रा भनिएका कतिपय फिल्मको कमाइ औसत वा कम हुने गरेको समेत उल्लेख गरे।
“हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरै दर्शक र समीक्षकले राम्रो भन्नुभयो, तर त्यसको कमाइ हाम्रा अन्य फिल्मको तुलनामा कम थियो। यसपटक पनि ‘छ माया छपक्कै २’ ले समीक्षात्मक रूपमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ, तर बक्स अफिस कमाइ भने सोचेजस्तो हुन सकेको छैन,” गिरीले भने।
자फ्नो समूह जोडिने फिल्ममा विश्वास गरेर लगानी गर्ने निर्माताको रकम सुरक्षित गराउनु आफूहरूको पहिलो कर्तव्य हुने उहाँको भनाइ छ। “हाम्रो निर्माण पक्ष र कथ्य शैली (मेकिङ र न्यारेसन) का कारण फिल्मको बजेट केही बढ्न पुग्छ। तर पनि हामी लगानी सुरक्षित हुने सङ्घारमै छौँ,” गिरीले थपे।
फिल्म ‘छ माया छपक्कै’ मा मुख्य निर्माताका रूपमा रोहित अधिकारी जोडिएका छन् भने अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाले लेखन, सिर्जनात्मक (क्रिएटिभ) सहभागिता र अभिनयमार्फत लगानी गरेका छन्।
टेलिफिल्मको पृष्ठभूमिबाट ठूलो पर्दामा प्रवेश गरी निरन्तर व्यावसायिक सफलता हासिल गर्दै आएको यो समूह जोडिएका फिल्ममध्ये ‘छ माया छपक्कै २’ ले अहिलेसम्मकै कम कमाइ गरेको छ।
बक्स अफिस स्रोतका अनुसार फिल्मले हालसम्म घरेलु बजारबाट करिब तीन करोड रुपैयाँ ग्रस कलेक्सन मात्र गरेको छ। दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
यसअघि बनेको पहिलो भाग ‘छ माया छपक्कै’ ले बक्स अफिसमा कुल नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो।
पहिलो भागको सोही सफलताका कारण यस सिक्वेलप्रति पनि दर्शकको ठूलो आशा र चासो थियो, तर हालसम्मको आधिकारिक रिपोर्टअनुसार यसको व्यापार अघिल्लो भागको तुलनामा निकै कमजोर देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment