नेपाली सेनामा भावी नेतृत्वको दौड: रोलक्रम र मेरिट भारी पर्ला कि सम्बन्ध र प्रभाव?

रथीमा उपरथी अनुपजंग थापा सिफारिस

डिसी नेपाल
१२ कार्तिक २०८३ १३:३४
64
Shares

काठमाडौं। नेपाली सेनामा नेतृत्व परिवर्तन बाहिरबाट हेर्दा निश्चित संवैधानिक तथा संस्थागत प्रक्रियाजस्तो देखिए पनि सैनिक संगठनभित्र यसको तयारी धेरै अगाडिदेखि सुरु हुने गर्दछ।

बढुवा, पदस्थापन, कमाण्डको जिम्मेवारी, तालिम, अन्तर्राष्ट्रिय नियुक्ति र वरिष्ठताको क्रमले भावी नेतृत्वको आधार तय गर्छ। हालका प्रधानसेनापति अशोकराज सिग्देलको कार्यकालपछिको नेतृत्वलाई लिएर अहिलेदेखि नै सैनिक वृत्तमा विभिन्न कोणबाट चर्चा सुरु भएको छ।

यसैक्रममा, नेपाली सेनामा रिक्त हुने रथी पदका लागि उपरथी अनुपजंग थापा सिफारिस भएका छन्। यो सिफारिससँगै सेनाको भावी नेतृत्व र उच्च तहको समीकरणलाई लिएर सैनिक वृत्तमा नयाँ बहस र चर्चाले तीव्रता पाएको छ। विशेषगरी उपरथी अनुपजंग थापा र उपरथी मधुकरसिंह कार्कीको आगामी करियर यात्रालाई लिएर भइरहेका चर्चा यस बहसको केन्द्रमा छन्।

दुवै अधिकृतको व्यावसायिक यात्रा, वरियता, जिम्मेवारी र विगतका नियुक्तिहरूका प्रकृति फरक रहेकाले यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको मात्र नभई नेपाली सेनामा वरियता, योग्यता र व्यक्तिगत प्रभावबीचको सन्तुलनको प्रश्न बनेको छ।

२८ बेसिकका सैनिक अधिकारी अनुपजंग थापा २०८० फागुन ६ गते उपरथीमा बढुवा भएका थिए। त्यसबेला उनी र ३० बेसिकका मधुकरसिंह कार्कीबीचको वरियताको प्रसंग चर्चामा आएको थियो।

कार्की थापाभन्दा दुई बेसिक जुनियर भए पनि विगतका केही जिम्मेवारी र करियरक्रमका कारण कतिपय चरणमा वरियतामा अगाडि देखिएका थिए। तत्कालीन राजदरबारमा राजा ज्ञानेन्द्र शाहको एडिसीका रूपमा निर्वाह गरेको भूमिका तथा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँगको पारिवारिक सम्बन्धलाई लिएर उनको करियर यात्राबारे सैनिक वृत्तमा विभिन्न चर्चा हुने गरेका छन्।

यद्यपि, यस्ता सम्बन्धले बढुवा वा पदोन्नतिमा प्रत्यक्ष प्रभाव पारेको भन्ने आधिकारिक पुष्टि भने सार्वजनिक रूपमा स्थापित भएको छैन।

सहायक रथी बनेपछि कार्की अमेरिकास्थित नेपाली दूतावासमा सैनिक सहचारीका रूपमा कार्यरत रहेका बेला खरिद तथा एनसेलसँग जोडिएका केही विवादमा नाम आएको चर्चा भए पनि कुनै पनि विवादमा नाम जोडिनु र अनियमिततामा दोषी ठहर हुनु भिन्न विषय हुन्।

त्यस्तै, नेशनल डिफेन्स कोर्स (एनडीसी) समयमा गर्न नपाएका कार्कीले पछि नाइजेरियामा उक्त कोर्स गरेको र तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको पहलमा अवसर प्राप्त गरेको चर्चासमेत हुने गरेको छ। २०८१ साउनमा उपरथीमा बढुवा भएपछि पश्चिम पृतनापति हुँदै उनी २०८२ पुसमा जंगी अड्डा सरुवा भएका थिए।

आगामी मंसीरमा रथीहरू प्रदीप केसी र गणेश श्रेष्ठले अवकाश पाएपछि नेपाली सेनाको उच्च नेतृत्व तहमा नयाँ समीकरण बन्नेछ। हालका रथीद्वयले क्रमशः २०८३ साल मंसीर ८ र १६ गते अवकाश पाउने भएपछि उपरथी थापा र कार्कीबीच रथी बन्ने समयमा जम्मा आठ दिनको मात्र अन्तर रहने देखिएको छ। यो थोरै दिनको अन्तरले भविष्यको नेतृत्वमा ठूलो अर्थ राख्नेछ।

यसैबीच, उपरथी प्रकाश थापा र मधुकरसिंह कार्की एउटै बेसिक र विगतको युनिट कनेक्सनका कारण भावी नेतृत्वको सम्भावित समीकरणसँग जोडेर हेरिएका छन्। यद्यपि, व्यावसायिक निकटता हुनु र कसैको योजनामा सक्रिय हुनु अलग कुरा हुन्।

उपरथी अनुपजंग थापाको रथीमा भएको सिफारिसलाई सेनामा रोलक्रम, वरिष्ठता र नियमसम्मत प्रक्रियाको निरन्तरताका रूपमा हेरिएको छ।

अन्ततः नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने बाटो रोलक्रम, वरिष्ठता, योग्यता, कमाण्ड क्षमता र संस्थागत विश्वासको आधारमा तय हुन्छ कि व्यक्तिगत सम्बन्ध, पहुँच र शक्ति सन्तुलनको आधारमा भन्ने प्रश्नको उत्तर आगामी दिनका पदस्थापन र निर्णयहरूले दिनेछन्।

सेनाको नेतृत्व कुनै व्यक्तिगत पुरस्कार नभई राज्यले सुम्पिएको संवेदनशील जिम्मेवारी भएकाले यसको छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र मेरिटमा आधारित हुनुपर्नेमा जोड दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *