भर्याङ चढेर कैदी भागेपछि…
सांतेकित तस्बिर एआई
गण्डकी । कर्तव्य ज्यान र डाँकासम्बन्धी गम्भीर कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेका एक कैदी मध्यराति भर्याङ चढेर भागेको घटनाले कारागारको समग्र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाएको छ।
गत असोज ३१ गते राति करिब २ः०० बजेतिर पोखरा महानगरपालिका-१८, खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागार परिसरभित्र ल्याएर राखिएको भर्याङको प्रयोग गरी पर्खाल नाघेर भागेका थिए।
कारागार प्रशासनलाई चुनौती दिँदै फरार भएका जलारीलाई प्रहरीको विशेष टोलीले तीव्र खोजीपश्चात् कात्तिक ३ गते पोखराकै एक स्थानीय होटलबाट पुनः पक्राउ गर्न सफल भएको थियो।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार कैदी जलारी हतारमा नभई निकै योजनाबद्ध रूपमा कारागारबाट भागेको पाइएको छ।
“बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर उनी भागेको अनुसन्धानबाट खुलेको छ। जलारीले विगत एक महिनादेखि कारागारबाट भाग्ने गोप्य योजना बनाइरहेको बयानका क्रममा स्वीकार गरेका छन्,” एसपी कार्कीले भने।
एसपी कार्कीका अनुसार जलारीले कारागारभित्रै सानो पसलसमेत सञ्चालन गर्दै आएका थिए। कारागारको आन्तरिक सुरक्षार्थ खटिएका प्रहरी कर्मचारी र कैदीका नाइकेहरूको पर्याप्त ध्यान नपुग्दा र सुरक्षा सतर्कता कमजोर हुँदा जलारी भाग्न सफल भएको उनको भनाइ छ।
“भोलिपल्ट पनि बिजुलीको मर्मतसम्भार गर्नुपर्छ भन्ने बहाना बनाएर उनले त्यो भर्याङ आफ्नै पसल रहेको ठाउँ नजिकै ल्याएर राखेका रहेछन् र मध्यराति सबै सुतेको मौका छोपी भागेका हुन्,” प्रहरी उपरीक्षक कार्कीले प्रष्ट पारे, “उनले कारागारका नाइके र अन्य सह-कैदीहरूलाई समेत पूर्ण रूपमा झुक्काएर यो कदम चालेको देखिन्छ।”
कारागारको कडा सुरक्षा घेराभित्रबाट यसरी कैदी भागेका घटना अत्यन्तै बिरलै हुने गरेको उल्लेख गर्दै उनले कारागारको सुरक्षा संवेदनशीलतामा उच्च ध्यान दिनुपर्ने आवश्यकतालाई यस घटनाले गम्भीरतापूर्वक झकझक्याएको बताए।
यता, कास्की कारागारका जेलर घनश्याम गौतमले भने घटनाको भोलिपल्ट बिहान नियमित कैदी गणना गर्ने क्रममा मात्रै जलारी हराएको/भागेको थाहा भएको जानकारी दिए।
उच्च सुरक्षा मानिने कारागारबाटै कैदी भागेपछि सुरक्षा व्यवस्थालाई लिएर सर्वसाधारण र सम्बद्ध निकायबाट प्रश्न र चासो व्यक्त हुनु स्वाभाविक भएको उनको भनाइ छ।
कारागारबाट फरार भए पनि प्रहरीको तीव्र सक्रियताका कारण जलारी दुई दिनभित्रै पुनः नियन्त्रणमा आएको जेलर गौतमले बताए। गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा जलारीलाई होटलबाटै घेराबन्दी गरी पक्राउ गरेको थियो।
पक्राउ परेका जलारीमाथि अहिले कारागार ऐनसम्बन्धी कसुरमा कास्की अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
“कर्तव्य ज्यान र डाँका मुद्दामा उनको २५ वर्षको कैद सजाय पहिलेदेखि नै कायम छ, भने कारागारबाट भागेको यो पछिल्लो मुद्दा प्रमाणित भएपछि उनलाई थप पाँच वर्षसम्म जेल सजाय हुन सक्छ,” एसपी कार्कीले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment