कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

डिसी नेपाल
१२ कार्तिक २०८३ ९:१५

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन)मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेको हुनाले आज अरूले शपथ लिन लागेका हुन् ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिएका छन् ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशन अन्तर्गत उद्घाटन र बन्दसत्र खुल्ला मञ्चमा भएको थियो भने मतदान खुल्ला मञ्च र राष्ट्रिय सभागृहमा भएको थियो ।

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । पहिलो बैठकले ऐतिहासिक महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पङ्क्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ ।

बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरूका बारेमा पनि छलफल हुने नेताहरूले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *