मुगुको खत्याडमा भीषण आगलागी : किराना र टेलर पसल जलेर नष्ट, करोडौँको धनमाल क्षति

मुगु। मुगु जिल्लाको खत्याड गाउँपालिका–२ स्थित जाम बजारमा गए राति अचानक आगलागी हुँदा दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट लाखौँ मूल्य बराबरको धनमाल जलेर खरानी भएको छ।

प्रहरी चौकी श्रीकोटका अनुसार कात्तिक १२ गते राति १२:०५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा अचानक आगलागी भएको हो।

घटनाको विवरण अनुसार, सोही ठाउँका ४० वर्षीय विष्णु संज्यालको जस्ता र काठले बनेको किराना पसल तथा ३७ वर्षीय अन्नाम दमाईको कपडा सिलाई टेलर पसलमा एक्कासि आगो सल्किएको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) नन्दबहादुर रावतको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त अथक प्रयासपछि राति १:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीको यकिन कारण अझै खुल्न नसकेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको कुल क्षतिको यकिन विवरण मुचुल्का तयार पारेपछि मात्र आउने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाले बताए।

आगलागीबाट दुवै पसलभित्र रहेका सम्पूर्ण मालसामानहरू पूर्ण रूपमा नष्ट भएका छन्। घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनास्थल प्रहरी चौकी श्रीकोटबाट पैदल करिब ४५ मिनेटको दूरीमा पर्दछ।

आगलागी पीडित अन्नाम दमाईले आफ्नो दुःख व्यक्त गर्दै भने, “अचानक कहाँबाट र कसरी आगो लाग्यो, केही थाहा पाउनै सकिएन। राति सुतिरहेको अवस्थामा एक्कासि आगो बलेको थाहा पायौँ। मेरो कमाइ खाने यही एउटा टेलर पसल थियो, आगोले सबै खरानी बनाइदियो। लुगाकपडा, भाँडाकुँडा र अन्नपात सबै जल्यो। हिउँदको चिसो समय सुरु भइसकेको छ, अब कसरी घरपरिवार चलाउने? हामी त बिचल्लीमा पर्यौँ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *