८५ प्रतिशत मतगणना सकिँदा नेतान्याहु अगाडि, तर स्पष्ट बहुमतबाट अझै टाढा

डिसी नेपाल
१२ कार्तिक २०८३ ८:२०

काठमाडौं । इजरायलको आम निर्वाचनको आंशिक नतिजाअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्ना प्रतिद्वन्द्वी तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटभन्दा अगाडि रहेका छन्। यद्यपि, उनी संसद्‌मा बहुमत हासिल गर्ने आँकडाबाट अझै टाढा देखिएका छन्।

८५ प्रतिशत मतगणणा सम्पन्न हुँदासम्म नेतान्याहुको ‘लिकुड पार्टी’ र उनका उग्र-दक्षिणपन्थी तथा अति-रूढिवादी यहुदी सहयोगी दलहरू १२० सिटयुक्त संसद्‌मा ५३ सिट जित्नेतर्फ उन्मुख छन्। अर्कातर्फ, आइजेनकोटको ‘यासर पार्टी’ र उनको गठबन्धनमा रहेका अन्य तीन यहुदी विपक्षी दलहरू ४८ सिट जित्ने दिशामा अगाडि बढिरहेका छन्।

दुवै नेताहरूले सरकार गठनका लागि गठबन्धन निर्माणको प्रयास गर्ने बताएका छन्।

यसैबीच, अरब नेतृत्वका दलहरूले १९ सिटमा जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ, जसका कारण उनीहरू ‘किङमेकर’ (सरकार बनाउने वा ढाल्ने निर्णायक शक्ति) का रूपमा उभिन सक्छन्। तर, एउटा यहुदी पार्टीबाहेक अन्य सबैले उनीहरूसँग मिलेर काम नगर्ने निर्णय गरिसकेका छन्।

सैनिक, कूटनीतिज्ञ र अस्पतालमा भर्ना भएका बिरामीहरूलगायत विभिन्न समूहका ४ लाख ३० हजारदेखि ४ लाख ८० हजारसम्मका हुलाक (डाक) मतपत्रहरूको गणना अझै बाँकी रहेकाले अन्तिम नतिजा आउन अझै एक वा दुई दिन लाग्न सक्नेछ।

नतिजाको औपचारिक पुष्टि भएपछि राष्ट्रपति आइज्याक हर्जोगले सबै राजनीतिक दलहरूसँग छलफल गर्नेछन् र त्यसपछि मात्रै सरकार गठनका लागि कुनै नेतालाई आह्वान गर्नेछन्। यो प्रक्रिया पूरा हुन केही साता लाग्न सक्छ।

यदि दलहरू सरकार बनाउन असफल भएमा देश पुनः निर्वाचनको दिशामा जानेछ।

जेरुसेलमस्थित आफ्नै निवासमा आयोजित बैठकका क्रममा राष्ट्रपति हर्जोगले मङ्गलबार भएको निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको भन्दै प्रशंसा गरे, जुन दुई दशकभन्दा बढी समययताकै उच्च मतदान प्रतिशत हो।

उनले भने, ‘यो इजरायली समाजका लागि गर्वको विषय हो, र इजरायलमा लोकतन्त्रप्रतिको प्रतिबद्धता कति गहिरो छ भन्ने देखिनु उल्लेखनीय छ।’

आगामी साता आधिकारिक नतिजा प्राप्त हुने अपेक्षा गर्दै त्यसपछि सबै दलहरूसँग छलफल सुरु गर्ने उनले बताए।

‘निसन्देह, अर्को चरणको निर्वाचन टार्नका लागि हरसम्भव प्रयास गरिनुपर्छ। त्यसैले, यहाँ आउने सबै टोलीहरू खुला हृदयका साथ आउनेछन् भन्ने मैले आशा राखेको छु,’ उनले थपे।

प्रधानमन्त्री नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी दुवैले सरकार गठनका लागि आफूहरूलाई नै आह्वान गरिनुपर्ने दाबी गरेका छन्।

विपक्षी गठबन्धनका नेता आइजेनकोटले प्रारम्भिक एक्जिट पोलका आधारमा जनताले ‘परिवर्तनको पक्षमा जनादेश दिएको’ दाबी गरेका थिए।

इजरायलका तीन प्रमुख सञ्चार माध्यमका एक्जिट पोलहरूले आइजेनकोटको ‘चेन्ज ब्लक’ (परिवर्तन गठबन्धन) ले ५२ देखि ५३ सिट प्राप्त गर्ने र नेतान्याहुको गठबन्धनले ५० सिट पाउने अनुमान गरेका थिए।

तेल अभिभस्थित यासर पार्टीको चुनावी मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘असफल गठबन्धनले जनताको विश्वास गुमाएको छ। म मेरा सहयोगीहरूसँग मिलेर जनताको यो निर्णयलाई जायोनिस्ट सरकारमा रूपान्तरण गर्ने सुनिश्चित गर्नेछु।’

पछि सञ्चार माध्यमहरूले आफ्ना एक्जिट पोलहरू अद्यावधिक (अपडेट) गर्दै दुवै पक्ष ५१-५१ सिटमा बराबरीमा रहने वा नेतान्याहुको पक्षले तीन सिटको झिनो अग्रता लिने अनुमान प्रस्तुत गरे।

त्यसपछि नेतान्याहुले जेरुसेलमस्थित लिकुडको मुख्यालय पुगेर आफ्नो दक्षिणपन्थी गठबन्धनले ‘भारी बहुमत’ हासिल गरेको घोषणा गरे।

उनले भने, ‘हामीले एक बलियो दक्षिणपन्थी राष्ट्रिय सरकार गठन गर्नुपर्छ। जायोनिज्म-विरोधी अरब दलहरूमा निर्भर सरकार बनाएर इजरायललाई जोखिममा पार्नु पूर्णतया अस्वीकार्य छ।’

बुधबार मतगणना जारी रहँदा नेतान्याहुको गठबन्धनले एक्जिट पोलको अनुमानभन्दा राम्रो प्रदर्शन गर्दै ५३ सिट जित्ने दिशामा अगाडि बढेको देखियो। यद्यपि, यो आँकडा अघिल्लो संसद्‌मा उनीहरूले जितेको सिटभन्दा १५ ले कम हो।

मङ्गलबार सम्पन्न निर्वाचन ७ अक्टोबर २०२३ मा हमासले गरेको घातक आक्रमण र त्यसपछि गाजा, लेबनान तथा इरानमा चर्किएको युद्धपछिको पहिलो आम निर्वाचन हो।

इजरायली नागरिकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण निर्वाचनहरूमध्ये एक मानेका छन्, किनकि यसले नेतृत्वको मात्र फैसला नगरी देश हालको कठोर, धार्मिक-राष्ट्रवादी दिशामा अगाडि बढिरहनेछ वा छैन भन्ने पनि तय गर्नेछ।

मुख्य चुनावी मुद्दाहरूमा ७ अक्टोबरको आक्रमणको कारक बनेको सुरक्षा अक्षमताको जवाफदेहिता, क्षेत्रीय युद्ध सञ्चालनको तरिका, अति-रूढिवादी यहुदी युवाहरूको सेनामा भर्ना, न्यायिक सुधार र इस्रायलको अन्तर्राष्ट्रिय छवि समावेश थिए।

कफर साबाकी बासिन्दा अभिगेल लेभिनले पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको विपक्षी ‘बेयाचाद पार्टी’ लाई मतदान गरेकी थिइन्। उनले बीबीसी न्यूजसँग कुरा गर्दै निर्वाचनको नतिजाबाट आफू निराश भएको बताइन्।

उनले भनिन्, ‘मैले नयाँ नेतृत्वको आशा गरेकी थिएँ। एउटा राष्ट्रका रूपमा हामीलाई यसको आवश्यकता छ भन्ने मलाई लाग्छ। ७ अक्टोबरमा जो सत्तामा थिए, उनीहरू अब सत्तामा रहनु हुँदैन।’

करिब १,२०० जनाको ज्यान जाने गरी र २५१ जनालाई बन्धक बनाइने गरी तीन वर्षअघि भएको घटनाको जिम्मेवारी नेतान्याहुले नलिएकामा सर्वसाधारण निराश रहेको उनले बताइन्। किब्बुट्ज बेएरीमा ज्यान गुमाउनेहरूमा उनका श्रीमानकी बज्यै पनि परेकी थिइन्।

रमात गानका बासिन्दा ग्यालले भने आफूले नेतान्याहुलाई नै भोट दिएको बताए, किनकि यहुदीहरूको अस्तित्व नै मेटाउने उद्देश्य राखेका छिमेकीहरूसँग इजरायलीहरू शान्तिपूर्वक बस्न सक्दैनन्।

उनले ‘अरब राजनीतिक दलहरू बलियो बन्दै गएकामा आफूलाई डर लागेको’ पनि बताए।

बुधबार लिकुड पार्टीले निर्वाचनमा ‘धाँधली’ भएको आरोप लगाएको छ। कुनै प्रमाणविना नै उसले मतदातालाई प्रलोभनमा पार्न घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयरको प्रयोग गरिएको दाबी गरेको छ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचनपछिको समीक्षाका क्रममा यी दाबीहरूको अनुसन्धान गरिने जनाएको छ।

दुई अरब दलहरू— युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्ट— को सिट सङ्ख्या दोब्बर हुने सम्भावना छ। यसको मुख्य कारण अरब इजरायलीहरूबीच मतदानमा भएको उल्लेख्य वृद्धि हो। अरब इजरायलीहरू कुल जनसङ्ख्याको करिब पाँचौँ भाग ओगट्छन् र अक्सर आफूलाई इजरायलका प्यालेस्टिनी नागरिक मान्छन्।

हाइफा नजिकैको गाउँमा बस्ने र अरब मतदाताहरूलाई मतदानका लागि प्रेरित गर्ने अभियान चलाएका मेहदी काबाहाले यस नतिजालाई ‘ऐतिहासिक’ भनेका छन्।

उनले भने, ‘अरब नागरिकहरू बाहिर आएर स्पष्ट रूपमा भनेका छन्— हामी यस देशमा आफ्नो अधिकार र आवाजको वास्तविक प्रयोग चाहन्छौँ।’

जोइन्ट लिस्टका प्रमुख युसुफ जबारिनले बीबीसीसँग कुरा गर्दै अति-दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गिरलाई सत्ताबाट बाहिर्याउन सकिने आशाले पनि अरब मतदाताहरू प्रेरित भएको बताए। उनले बेन-गिरमाथि जातियता र ‘हाम्रो समुदायविरुद्ध उत्तेजना फैलाएको’ आरोप लगाए।

ज्युइस पावर पार्टीका नेता बेन-गिरले कब्जा गरिएको वेस्ट बैङ्कको गाभ्ने प्रक्रिया, गाजामा यहुदी बस्ती निर्माण र प्यालेस्टिनीहरूको ‘स्वेच्छिक विस्थापन’ को आह्वान गर्दै आएका छन्। प्यालेस्टिनीहरूविरुद्ध उत्तेजना फैलाएको आरोपमा धेरै पश्चिमी देशहरूले उनीमाथि प्रतिबन्ध लगाएका छन्।

सन् २०२१ को निर्वाचनपछि गठित अल्पकालीन सत्ता गठबन्धनमा रहेका युनाइटेड अरब लिस्टका नेता मन्सुर अब्बासले मङ्गलबार राति भनेका थिए, ‘सङ्ख्या हाम्रो पक्षमा हुनेछ र हामी, चेन्ज ब्लक र युएएल मिलेर संसद्‌मा ६१ सिट पुर्‍याउने सुनिश्चित गर्न सक्छौँ।’

वामपन्थी डेमोक्र्याट्स पार्टीका नेता यायर गोलानले आइजेनकोटको गठबन्धनका सहयोगीहरूसँग अरब दलहरूसँग ‘साझेदारीमा रूपान्तरणकारी सरकार गठन गर्ने र नेतान्याहुको गठबन्धनलाई विस्थापित गर्ने अवसर’ रहेको बताए।

उनले ‘एक्स’ मा लेखेका छन्, ‘यदि हामी डराउन छाड्दैनौँ र जातीयताको अन्त्य गर्दैनौँ भने यहाँ हाम्रो कुनै भविष्य छैन।’

यद्यपि, आइजेनकोटले यसअघि यस्तो गठबन्धनप्रति आपत्ति जनाउँदै वा केही सर्तहरू राख्दै आएका छन्। जसमा इजरायललाई यहुदी र लोकतान्त्रिक राष्ट्रका रूपमा मान्यता दिनुपर्ने तथा हमासलाई आतङ्कवादी सङ्गठन मानेर त्यसको अन्त्य गरिनुपर्ने सर्तहरू समावेश छन्। अर्कातर्फ, उनको गठबन्धनमा रहेका दक्षिणपन्थी दलहरूले यस्तो कुनै पनि गठबन्धनलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

जबारिनले भने, ‘विपक्षी दलहरूले कुनै पनि सर्त राख्न मिल्दैन। यदि इजरायलमा विपक्ष वास्तविक र ठोस परिवर्तन ल्याउन तथा यो खतरनाक, अति-दक्षिणपन्थी सरकारको विकल्प दिन तयार छ भने… उनीहरूले हामीसँग वार्ता गर्नैपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *