यात्रुको फोनमा ‘विमान अपहरण’ को सन्देश देखिएपछि युनाइटेड एयरलाइन्सको उडान अकस्मात फर्कियो, एक जना पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०८३ ८:५३

काठमाडौं । अमेरिकाको लास भेगासबाट न्यु जर्सीका लागि उडान भरेको युनाइटेड एयरलाइन्सको उडान सङ्ख्या १६८१ अकस्मात लास भेगासतर्फ नै फर्किनुपरेको छ। विमानमा सवार एक यात्रुको मोबाइल फोनमा एयर होस्टेसले विमान अपहरणसँग सम्बन्धित गम्भीर सन्देश देखेपछि विमानलाई आकस्मिक रूपमा फर्काइएको हो।

‘द इन्डिपेन्डेन्ट’ को रिपोर्ट अनुसार, उडान परिचारिकाले एक यात्रुको फोनमा विमानको नियन्त्रण आफ्नो हातमा लिने विषयमा पठाइँदै गरेको खतरनाक सन्देश देखेकी थिइन्। यसबारे एयर होस्टेसले तुरुन्तै पाइलटलाई जानकारी गराइन्।

पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिँदै भने, ‘फ्लाइट एटेन्डेन्टले एक यात्रुलाई विमान अपहरण गर्न लागेको सन्देश टाइप गर्दै गरेको देखेकी छन्। उनले मलाई खबर गरिन्। हामी ‘लकडाउन’ को स्थितिमा छौँ र लास भेगास फर्किँदै छौँ।’ विमान अचानक लास भेगासतर्फ फर्किन थालेपछि यात्रुहरूमाझ त्रास र अन्योलको वातावरण सिर्जना भएको थियो।

क्रु सदस्यहरूले यात्रुको शङ्कास्पद गतिविधिको रिपोर्ट गरेपछि युनाइटेड एयरलाइन्सको उक्त उडान गत शनिबार अक्टोबर २४ का दिन स्थानीय समय अनुसार राति करिब ११:०५ बजे लास भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको थियो।

लास भेगास फर्किएलगत्तै सबै यात्रुहरूलाई विमानबाट ओरालेर पुनः कडा सुरक्षा जाँच गराइएको थियो। अधिकारीहरूका अनुसार यस घटनामा कसैलाई पनि चोटपटक लागेको छैन। लास भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यु जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको सो विमान क्रु सदस्यको तत्परताका कारण बीच बाटोबाटै फर्किएको हो।

उक्त विमानमा १५० जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए। अपहरणको धम्कीपछि विमानलाई बीच बाटोबाटै फर्काइनुका साथै घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ। आतङ्कवादसँग सम्बन्धित कार्यको धम्की दिएको वा गलत सूचना फैलाएको आशङ्कामा २५ वर्षीय डान्टे मिल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य यात्रुहरूलाई भने भोलिपल्ट अर्को उडानको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *