खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह: वाल स्ट्रिट जर्नल

डिसी नेपाल
११ कार्तिक २०८३ १७:१९

वासिंटन डिसी। अमेरिकाले मध्यपूर्वका खाडी मुलुकहरूलाई आगामी अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ। यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’ ले एक प्रतिवेदन प्रकाशित गरेको छ।

प्रकाशित समाचार अनुसार, अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको तीव्र सैन्य कारबाहीको रणनीति तयार पारिरहेका छन्। मध्यपूर्व क्षेत्रमा तैनाथ अमेरिकी सेनाले गोलाबारुद र सैन्य भण्डारलाई पुनः द्रुत गतिमा बढाउँदै लगेको छ भने सम्भावित आक्रमणका लागि बमवर्षक तथा अत्याधुनिक लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ। इजरायलले पनि सम्भावित नयाँ आक्रमणका लागि सैन्य योजना पूरा गरी प्रमुख लक्ष्यहरू पहिचान गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे अन्तिम निर्णय लिइनसेकेको भए तापनि इरानका महत्त्वपूर्ण पूर्वाधार र आणविक केन्द्रहरूलाई लक्षित गरी ठूलो मात्रामा हवाई तथा क्षेप्यास्त्र आक्रमण गर्ने योजना तर्फ कदम बढाइएको समाचारमा उल्लेख छ।

यसअघि इरानसँग कूटनीतिक सम्झौताको प्रयास हुनसक्ने सङ्केत दिँदै ट्रम्पले फेरि अर्को बमबारी अभियान सुरु गर्न सकिने वा इरान सम्झौताका लागि तयार हुनसक्ने बताएका थिए। तर, उनले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचन अघि भने इरानमाथि कुनै आक्रमण नगरिने स्पष्ट पारिसकेका छन्।

क्षेत्रीय तनाव र आर्थिक प्रभावका कारण यो सैन्य द्वन्द्वले इन्धनको मूल्य वृद्धि गरी विश्व बजार र अमेरिकी निर्वाचनमा समेत प्रभाव पारेको छ। मध्यपूर्वमा तीन वटा विमानवाहकतैनाथी बढाउँदै अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई सतर्क गराएको छ। मध्यावधि निर्वाचन सकिएलगत्तै परिस्थिति थप उग्र बन्न सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *