चक्रवाती आँधी ‘अर्नब’को प्रभाव: सरकारद्वारा उच्च सतर्कता, पदयात्रा र उडानमा विशेष सजगता अपनाउन आग्रह

डिसी नेपाल
१२ कार्तिक २०८३ १६:५०

काठमाडौं। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कतामा राखेको छ।

नेपाल आइपुग्दासम्म यो चक्रवात कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना भने यथावत् रहेको मौसमविद्हरूले बताएका छन्। सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत जनचेतना फैलाइरहेका छन्।

पर्यटन र उड्डयन क्षेत्रमा उच्च सतर्कता

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त रूपमा पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र अघि बढ्न पर्यटक तथा पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्।

त्यसैगरी, हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ।

स्थानीय प्रशासनको अपिल र अफवाहबाट बच्न आग्रह

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आ-आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्।

सरकारले नागरिकहरूलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलाग्न, आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसमको अवस्था हेરી आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन विशेष अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *