रसुवा बाढी: प्रधानमन्त्री शाहद्वारा उद्धार र राहतका लागि ६ बुँदै आपतकालीन निर्देशन जारी

डिसी नेपाल
१० भदौ २०८३ १०:४८

काठमाडौँ। रसुवा जिल्लामा आएको भीषण बाढीपछि उत्पन्न आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार, राहत र जनधनको सुरक्षाका लागि सरकारका तर्फबाट लिइएका प्रमुख ६ निर्णय तथा कदमहरूबारे स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीद्वारा सार्वजनिक ६ बुँदे आपतकालीन अपडेट:

१. सुरक्षा निकाय परिचालन: प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू खटाइएको छ। परिस्थिति नियन्त्रणका लागि अन्य छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षा जनशक्ति घट्नास्थलतर्फ प्रस्थान गरिसकेको छ।

२. स्वास्थ्य सेवा तथा संस्थागत समन्वय: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। रेडक्रस, नेपाल स्काउट र मेडिकल टोलीहरूसँग समन्वय गरी थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्रमा पठाइँदै छ।

३. तटीय क्षेत्रमा पूर्वसतर्कता र स्थानान्तरण: नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्कालै सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी लाई कडा निर्देशन दिइएको छ। सम्भावित जोखिमबारे नागरिकलाई जागरूक गराउन बल्क एसएमएस र टेलिफोन कल मार्फत निरन्तर सूचना प्रेषित गरिएको छ।

४. हवाई उद्धारको प्रबन्ध: सम्भावित हवाई उद्धार तथा राहत सामग्री ढुवानीका लागि सरकारी हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्। साथै, निजी हेलिकप्टर कम्पनीहरूलाई आफ्ना उडानहरू तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

५. उच्चस्तरीय बैठकको आह्वान: परिस्थिति अनुसार तत्काल आगामी रणनीति तय गर्न र एकीकृत उद्धार सञ्चालन गर्न केही बेरमै उच्चस्तरीय बैठक बस्दै छ।

६. नागरिकलाई अपिल र आपतकालीन सम्पर्क नम्बर: प्रधानमन्त्री शाहले सबैलाई धैर्यधारण गर्दै सुरक्षित स्थानमा बस्न र आफ्ना नातेदारहरूसँग सम्पर्क नभएमा सुरक्षा निकायको आधिकारिक अपडेट कुर्न अनुरोध गरेका छन्। राहत तथा उद्धारसम्बन्धी सोधपुछका लागि सर्वसाधारणले तत्कालै हटलाइन नम्बर १२३४ वा १०० मा सम्पर्क गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *