डोकेबजारबाट करिब चार किलो चरेस बरामद
धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ किलो ८ सय ५० ग्राम चरेस बरामद गरेको छ।
आइतबार सशस्त्र प्रहरी बल (बीओपी डोकेबजार) बाट खटिएको गस्ती टोलीले शंकास्पद जेब्रा झोला नियन्त्रणमा लिएर जाँच गर्दा चाउचाउको कार्टुनभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको चरेस फेला परेको हो।
सशस्त्र प्रहरीलाई देखेपछि चरेस बोकेका तस्कर झोला छाडेर भारततर्फ भाग्न सफल भएको सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र बिष्टले जानकारी दिनुभयो।
बरामद गरिएको जेब्रा झोलाभित्र चरेसका साथै ईश्वरबहादुर धामीको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय आधार कार्ड, भारतको कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सवारी साधन दर्ता प्रमाणपत्र (ब्लुबुक) तथा दुई वटा नेपाली सिम एडप्टर समेत भेटिएको छ।
बरामद कागजातका आधारमा फरार तस्करको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment