वर्षात्ले जम्मा गरेको माटोले नागेश्वर मन्दिर प्रवेशमा समस्या

डिसी नेपाल
२८ भदौ २०८३ २२:३८

काठमाडौं। राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ।

मन्दिरको मूल ढोकाअघिको प्रवेश मार्गमा बर्सात्को पानीले तीन फिट बराबर हिलो माटो र कङ्क्रिट जम्मा भएको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए।

मन्दिरअघि जमेको माटोले नागेश्वरका नित्य दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न एक हप्तादेखि नै असहज भएको उनले बताए। मन्दिर परिसरभित्र पनि पानी र हिलोले गर्दा बगैँचाका फूल एवं रुख, बिरुवालाई पनि असर गरेको छ। सरसफाइ एवं बाटोको अवरोध हटाउन काठमाडौँ महानगरपालिका वडा नं ३२ सँग अनुरोध गरिएको समितिले जनाएको छ।

नेपाली नारीको महत्वपूर्ण पर्व तीजमा हजारौँ दर्शनार्थी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन्। तीजको अघिल्लो दिनसम्म पनि मन्दिरको मूल ढोकाअघिको माटो नपन्छाउँदा प्रवेशमा समस्या भएको मन्दिरका पुजारी जगन्नाथ खनालले बताए।

प्राचीन सम्पदा संरक्षणमा सम्बन्धित निकाय र स्थानीय सरकारले ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो छ। पशुपति क्षेत्रस्थित गौचरणमा पर्ने नागेश्वर मन्दिर विमानस्थल विस्तार गर्ने क्रममा २०६८ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार यहाँको सार्वजनिक जग्गामा स्थानान्तरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *