श्रद्धा, भक्ति र उल्लासका साथ आज देशभर हरितालिका तीज मनाइँदै
पशुपतिमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको घुइँचो
काठमाडौं। हिन्दू नेपाली महिलाहरूको महान् धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीज आज (सोमबार) देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले निराहार व्रत बसी भगवान् शिव र पार्वतीको पूजा-आराधना गर्ने, नाचगान गर्ने तथा दिदीबहिनीहरूबीच सुख-दुःख साटासाट गर्ने परम्परा रहिआएको छ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), सभामुख डोलप्रसाद अर्याललगायत विभिन्न राजनीतिक दलका नेताहरूले देश-विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूमा शुभकामना व्यक्त गरेका छन्।
भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटीलाई माइतीमा बोलाएर दर खुवाउने र द्वितीयामा दर खाने क्रमसँगै सुरु भएको यो पर्व तृतीयाका दिन मुख्य व्रत बसेर मनाइन्छ।
धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउनका लागि कठोर तपस्या र व्रत गरेकै स्मरणमा तीज पर्वको सुरुआत भएको मानिन्छ। यसै विश्वासका आधारमा आज अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गर्दै र विवाहित महिलाहरूले पारिवारिक सुख, समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन्। गणेश चौथी र मङ्गलबार अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको औपचारिक समापन हुनेछ।
तीजको मुख्य दिन आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा व्रतालु महिलाहरूको उल्लेख्य उपस्थिति छ। रातो सारी, चुरा, पोते र विभिन्न आभूषणमा सजिएका महिलाहरू बिहानैदेखि शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै शिवजीको आराधनामा लीन भएका छन्।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ भने परिसरभित्र आठ र बाहिर पाँचवटा लाइनको व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्र विकास कोषले महिला सुरक्षाकर्मीको परिचालन बढाउनुका साथै भण्डारखाल, सिफल, वनकाली, तिलगंगा र उमाकुण्डमा पार्किङको प्रबन्ध मिलाएको छ।
धार्मिक आस्थाका अतिरिक्त तीज पर्व पारिवारिक आत्मीयता, दिदीबहिनीको मिलन र सामाजिक अभिव्यक्तिको बलियो माध्यमसमेत बनेको छ। तीजका गीतमार्फत महिलाहरूले आफ्ना भावना, सामाजिक चेतना र महिला अधिकारका विषयहरू पोख्ने गरेका छन्।
यद्यपि, भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण यस वर्ष पर्वको रौनक केही ओझेलमा परेको छ। पछिल्लो समय सामूहिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिसँग जोडिँदै जाँदा पर्व मनाउने शैली फराकिलो बनेको छ भने अर्कातिर यसको मौलिकता जोगाउन र भड्किलोपन नियन्त्रण गर्नुपर्नेमा संस्कृतिविद्हरूले जोड दिँदै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment