परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

डिसी नेपाल
४ असोज २०८३ १२:१४

काठमाडौं। जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ।

मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाभित्र रहने गरी यो नयाँ शाखा खडा गरिएको हो।

उपसचिवको नेतृत्वमा रहने यस शाखाले जलवायु र वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वयको काम गर्नेछ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन वा कोप  जस्ता कार्यक्रमहरूमा सहभागिता जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउन शाखा स्थापना गरिएको बताएका छन्।

मुलुकको दीर्घकालीन हितलाई ध्यानमा राखेर हालका लागि शाखामार्फत काम सुरु गरिएको र भविष्यमा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ बनाइने मन्त्री खनालको भनाइ छ।

जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनामा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकतालाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *