चिमखोला–घ्याँसीखर्क सडक असारदेखि अवरुद्ध

डिसी नेपाल
४ असोज २०८३ १७:१०

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित चिमखोला–घ्याँसीखर्क सडकखण्ड अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ।

गाउँपालिकाको वडा नम्बर ७ चिमखोलास्थित मलाङमा करिब ४०० मिटर क्षेत्रमा पहिरो खसेर सडक क्षतविक्षत बनाएपछि गत असार अन्तिम सातादेखि यातायात सेवा पूर्ण रूपमा ठप्प छ।

सडक अवरुद्ध हुँदा वडा नम्बर ७ को नामिला तथा ८ नम्बर वडाका मङ्गलेखानी, घ्याँसीखर्क, चौरखानी, ढाँड, दुवाडी र पात्लेखर्क गरी आठ बस्तीको सडक सम्पर्क विच्छेद भएको छ। यातायात ठप्प हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन, गाउँपालिका केन्द्र तथा सदरमुकाम आवतजावत गर्न र खाद्यान्न ढुवानीमा सास्ती भएको छ। साथै स्थानीयस्तरमा उत्पादित आलु, टुसालगायत कृषि तथा पशुजन्य उपज बजारसम्म पुर्‍याउन नसकिएको स्थानीय नरप्रसाद छन्त्यालले बताए।

सो सडक चिमखोला–राहुघाट–मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको पहुँचमार्गका साथै प्रसिद्ध धौलागिरि आइसफल र धार्मिकस्थल रिखार जाने पदमार्गसमेत हो। माथिल्लो पाखोबाट निरन्तर पहिरो खसिरहने र तल राहुघाट नदी रहेकाले हाल पैदलयात्रा गर्नसमेत जोखिमपूर्ण रहेको छ। यो क्षेत्रमा विगत पाँच वर्षदेखि हरेक बर्खायाममा सडक अवरुद्ध हुँदै आएको छ।

निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउन कठिन भइरहेको रघुगङ्गा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्यालले बताए। मनसुन बाहिरिनेबित्तिकै पहिरो पन्छाएर यातायात सुचारु गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *