नेपालतर्फ सोझिँदै मौसमी प्रणाली: असोज ८ देखि १२ गतेसम्म उच्च जोखिमको खतरा
काठमाडौं। बंगालको खाडीअन्तर्गत उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र यसले नेपालमा वर्षा गराउने भए तापनि जोखिमको वास्तविक स्तर र सम्भावित असरबारे अहिल्यै यकिन गर्न नसकिने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आधिकारिक सूचनाअनुसार उक्त न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै जाने देखिन्छ।
भारतीय मौसम विभागका पछिल्ला प्रक्षेपणअनुसार यो प्रणाली सेप्टेम्बर २१ सम्म न्यूनचापीय क्षेत्रबाट डिप्रेसन र सेप्टेम्बर २२ सम्म गहिरो डिप्रेसनमा विकसित भई सेप्टेम्बर २३ आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।
थाइल्यान्ड र म्यानमार क्षेत्रबाट अघि बढेको यो प्रणाली बंगालको खाडीमा पुगेर चक्रवातमा परिणत भएमा, यो सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ।
विश्व मौसम संगठनको सूचीअनुसार चक्रवात बनेको खण्डमा बंगलादेशले प्रस्ताव गरेअनुरूप यसको नाम ‘अर्नब’ राखिनेछ। यद्यपि अहिले नै यसलाई चक्रवात नभनि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भन्नु वैज्ञानिक रूपमा बढी उपयुक्त हुने मौसमविद्हरूको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने स्पष्ट पारेको छ। अर्कातर्फ, स्वतन्त्र मौसमविद्हरूले भने विभिन्न पूर्वानुमान मोडेललाई उद्धृत गर्दै नेपालमा उच्च सतर्कता अपनाउनुपर्ने औंल्याएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार असोज ८-१२ सम्म केही मोडेलले केही स्थानमा ४०० देखि ७४१ मिलिमिटरसम्मको भारी वर्षा हुन सक्ने देखाएका छन्।
यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने र पूर्वतयारीका लागि समयमै जानकारी गराइएको उनले बताएका छन्। उनले असोज १० गते आसपास जोखिम तुलनात्मक रूपमा बढी देखिएकाले त्यसलाई सम्भावित उच्च जोखिमको समयखण्डका रूपमा बुझ्नुपर्ने स्पष्ट पारेका छन्।
अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले उपलब्ध मोडेलहरूले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेको भन्दै सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीको यात्रा स्थगन गर्न सुझाव दिएका छन्।
उनले सर्वसाधारणलाई नआत्तिन तर हदैसम्म सावधान रहन आग्रह गर्दै तयारीमा कुनै कमी गर्न नहुने बताएका छन्। नेपालमा मनसुनको अन्त्यतिर जमिन पहिले नै भिजिसकेकाले छोटो समयमा ठूलो पानी पर्दा पहिरो, भू-क्षय, खोलानालामा अचानक बाढी र सहरहरूमा डुबानको जोखिम उच्च रहन्छ।
विशेषगरी २०८१ असोज १० गतेको भीषण वर्षाले काठमाडौं उपत्यका र बीपी राजमार्ग क्षेत्रमा पुर्याएको क्षति अझै ताजा रहेकाले यसपटक पनि विशेष सावधानी आवश्यक मानिएको छ।
भदौ १० गते भोटेकोशी र रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि नदीको बहाव, किनार र भू-आकृतिमा परिवर्तन आएकाले यो वर्षा त्यस क्षेत्रका लागि अझ संवेदनशील बन्न सक्छ। यसका साथै कृषि क्षेत्रमा पनि ठूलो असर पर्न सक्ने देखिएको छ।
धानबाली पाकेर भित्र्याउने समय नजिकिँदै गर्दा पर्न सक्ने लगातारको पानी र हावाहुरीले बालीनालीमा क्षति पुर्याउन सक्ने भएकाले किसानहरूलाई विशेष सतर्कता अपनाउन र मौसम पूर्वानुमानका सूचनाहरू नियमित रूपमा पछ्याउन मौसमविद्हरूले सुझाव दिएका छन्।
भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बंगाल तथा बंगलादेशमा समेत प्रभाव पार्ने अनुमान गरिएको यो प्रणालीका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय र सर्वसाधारणले अहिल्यैदेखि सतर्कता र पूर्वतयारी सुरु गर्नु आवश्यक देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment