एसियाडमा पदक नआउनुमा खेलाडीलाई मात्र दोष दिनु उचित हुँदैन: युवराज लामा

डिसी नेपाल
५ असोज २०८३ १२:३३

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) मा पदक जित्न नसक्नुमा खेलाडीहरूलाई मात्र दोष दिन नहुने बताएका छन्।

कराँते टोलीका टिम लिडरसमेत रहेका लामाले पदकको अपेक्षा गर्नुअघि नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर समीक्षा हुनुपर्ने औँल्याएका हुन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, “२०औँ एसियाली खेलकुदमा सहभागी सबै देशका खेलाडीहरू आ-आफ्नो देशको क्षमता, हैसियत, खेलकुद नीति र तयारीअनुसार उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न आएका हुन्छन्।

उनीहरूको उद्देश्य पदक जित्नुका साथै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नु र नयाँ कुरा सिक्नु पनि हो। तर हामी नेपालीहरू भने बल्ल राष्ट्रिय टिम तयारीको अवधारणालाई व्यवस्थित र संस्थागत रूपमा विकास गर्ने चरणमा प्रवेश गर्दैछौँ। त्यसैले अपेक्षाअनुसार प्रदर्शन हुन नसक्दा खेलाडीलाई मात्र दोषी देखाउनु उचित हुँदैन।”

लामाले नेपालको समग्र खेलकुद क्षेत्र सुधारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्व र कार्यशैली, सरकारको लगानी, नेपाल ओलम्पिक कमिटीको भूमिका, राष्ट्रिय खेल सङ्घहरूको जिम्मेवारी, राजनीतिक दलहरूको हस्तक्षेप तथा राखेपका कर्मचारीहरूको कार्यप्रवृत्तिको निष्पक्ष समीक्षा गरिनुपर्ने बताएका छन्।

“खेलाडीले मैदानमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्ने हो। तर, खेलाडी तयार पार्ने प्रणाली, वैज्ञानिक प्रशिक्षण, प्रशिक्षकको विकास, अन्तर्राष्ट्रिय एक्सपोजर, खेल विज्ञान, पूर्वाधार, आर्थिक व्यवस्थापन र दीर्घकालीन राष्ट्रिय खेलकुद नीतिको जिम्मेवारी सम्बन्धित निकायहरूको हो,” उनले अगाडि लेखेका छन्, “त्यसैले २०औँ एसियाली खेलकुदलाई केवल ‘कति पदक जित्यौँ’ भन्ने प्रश्नमा मात्र सीमित नराखी, हामीले कस्तो राष्ट्रिय टिम तयार गरिरहेका छौँ र आगामी पुस्ताका लागि कस्तो संरचना निर्माण गर्दैछौँ भन्ने कोणबाट हेर्नु आवश्यक छ।”

नेपालको समग्र खेलकुद संरचना, नीति, नेतृत्व, लगानी, व्यवस्थापन र कार्यशैलीको निष्पक्ष समीक्षा गर्दै आवश्यक ठाउँमा पुनर्संरचना र सुधार गर्नु अपरिहार्य रहेको बताउँदै लामाले आजको समीक्षा र सुधारले नै भोलिको बलियो नेपाली राष्ट्रिय टिम निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *