भारी वर्षाको पूर्वअनुमानपछि मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह

डिसी नेपाल
६ असोज २०८३ १६:४६

काठमाडौं । असोज ९ गतेदेखि नेपालभर भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने मौसम विभागको पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले विभाग पुगेर सम्भावित जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन्।

उनीहरूले बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगी महानिर्देशक अर्चना श्रेष्ठ र प्रवक्ता विभूति पोखरेललगायतका अधिकारीहरूसँग छलफल गर्दै आवश्यक तयारीबारे चासो राखेका हुन्।

छलफलका क्रममा मौसमविदहरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’मा परिणत भएको र त्यसको प्रभावले देशभर भारीदेखि धेरै भारी वर्षा तथा हिमाली भेगमा भारी हिमपात हुने जानकारी गराएका छन्।

उत्तर अण्डमान सागर आसपास विकसित यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै आएकाले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुनेछ।

वर्षाका कारण बाढी, डुबान, कटान र पहिरोको उच्च जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमाली क्षेत्रतर्फको यात्रा नगर्न मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले आग्रह गरेकी छन्।

मौसम विभागको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सर्वसाधारण र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

प्राधिकरणले सो अवधिमा अत्यावश्यक कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै सम्भावित जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता उपकरणहरू तयारी अवस्थामा राख्न, साथै सम्पूर्ण सुरक्षा निकाय र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि सतर्क रहन निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *