काठमाडौंबाट ५८ विदेशी नागरिक प्रहरी नियन्त्रणमा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि काठमाडौं उपत्यकामा चलाइएको विशेष ‘स्वीप अपरेशन’का क्रममा ५८ जना विदेशी नागरिक पक्राउ परेका छन्। सोमबार राति प्रहरीका विभिन्न उच्चस्तरीय युनिटहरूले संयुक्त रूपमा अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमाण्डमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको टोलीले काठमाडौंका विभिन्न क्षेत्रमा रातभर छापा मारेको थियो। पक्राउ पर्नेहरूमा २० जना चिनियाँ नागरिक रहेका छन् भने बाँकी बंगलादेश, कोरिया लगायत अन्य मुलुकका नागरिक रहेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो गृहमन्त्री गुरुङले सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीलाई काठमाडौंमा अवैध र संदिग्ध गतिविधिमा संलग्न विदेशीहरूमाथि कडा कारबाही र अपरेशन चलाउन निर्देशन दिएका थिए। सोही निर्देशनलगत्तै सीआईबीको नेतृत्वमा यो संयुक्त टोली परिचालन गरिएको हो।
पक्राउ परेका विदेशी नागरिकहरू कुन-कुन अवैध वा आपराधिक गतिविधिमा संलग्न थिए भन्ने विषयमा भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। उनीहरूको भिसा स्थिति र संदिग्ध धन्दाबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment