त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
६ असोज २०८३ १६:३०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणको ठेक्कापट्टामा गम्भीर अनियमितता र भ्रष्टाचार गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणका क्रममा आर्थिक वर्ष २०७८/७९ को बजेट दुरुपयोग भएको निष्कर्ष निकाल्दै आरोपपत्र दर्ता गराएको हो।

सार्वजनिक खरिद प्रक्रियामा न्यूनतम रकम कबुल गर्ने निर्माण कम्पनीलाई गैरकानुनी रूपमा अयोग्य ठहर्‍याई राज्यलाई घाटा पुग्ने गरी बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का स्वीकृत गराइएको अख्तियारको छानबिनबाट खुलेको छ। सो बाटो निर्माणका लागि करिब ३४ लाख रुपैयाँमा काम गर्ने प्रस्ताव पेस गरेको कम्पनीलाई पन्छाएर एक करोड ८ लाख रुपैयाँ प्रस्ताव गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको थियो। नियमविपरीत बढी रकमको बोलपत्र स्वीकृत गर्दा राज्यको कोषबाट ७३ लाख ६१ हजार रुपैयाँ हानि-नोक्सानी भएको अख्तियारको दाबी छ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँगै तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भिमबहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र विष्टविरुद्ध मुद्दा चलाइएको छ।

त्यसैगरी बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र छल निर्माण सेवा प्रा.लि.का सञ्चालक दीपचन्द्र रोकायालाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले आरोपित सबैजनाबाट ७३ लाख ६१ हजार रुपैयाँ बिगो असुल गरी सोही बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *