त्रिपुरेश्वर बस आगजनी: चालक अर्जुन दोङको निधनपछि कीर्तिपुर अस्पतालमा आफन्तको भीड
काठमाडाैं। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो साढे १२ बजेतिर स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आफैंले आगो लगाउँदा गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत २५ वर्षीय दोङको निधन भएपछि अहिले अस्पताल परिसरमा मृतकका आफन्तहरूको भीड लागेको छ भने कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि प्रहरी टोली समेत ठूलो सङ्ख्यामा परिचालन गरिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी स्थायी घर भएका अर्जुनले काठमाडौंमा अरूको बस चलाएर परिवार पाल्दै आएका थिए। इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार उनको नागरिकतासमेत बनेको थिएन र उनका ५ वर्षका एक छोरा तथा श्रीमती छन्।
सोमबार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि उनले बसभित्रका यात्रुहरूलाई बाहिर ओरालेर ढोका बन्द गरी आफैँलाई आगो लगाएका थिए। प्रहरीले ढोका फुटाएर उद्धार गरी अस्पताल पुर्याए पनि शरीरको ९० प्रतिशत भाग जलिसकेकाले उनको ज्यान बचाउन सकिएन।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार दोङले पटक-पटक अरूको नाममा जारी भएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रयोग गर्दै आएका थिए। घटना स्थलमा प्रहरीले काभ्रेका दावा लामाको नाममा रहेको लाइसेन्स फेला पारेको थियो।
प्रहरी अनुसन्धानबाट दोङ यसअघि २०८२ कात्तिकमा बालाजुमा बस दुर्घटना गराई तीन जना घाइते बनाएर फरार रहेको र त्यसबेला सुनिल तामाङको लाइसेन्स प्रयोग गरेको खुलेको छ।
यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गर्दासमेत उनले दावा तामाङको नाममा रहेको अर्कै लाइसेन्स प्रयोग गरेको पुष्टि भएको छ।








No ads found for this position



डिसी नेपाल
Facebook Comment