प्रधानमन्त्री शाह अमेरिका प्रस्थान: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

डिसी नेपाल
६ असोज २०८३ २०:१०

काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ समारोहमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले यात्राका क्रममा अध्ययनका लागि प्रधानमन्त्री शाहलाई पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरे।

प्रधानमन्त्री शाह आजै साँझ ७:०० बजेको उडानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्नेछन् भने असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि वाग्लेलाई

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्री वाग्लेमै सरेको छ।

यसै गरी, महासभामा भाग लिन अगावै अमेरिका प्रस्थान गरिसकेका परराष्ट्र मन्त्री शिशिर खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री शाहले साेमबार नै अर्थमन्त्री वाग्लेलाई नै तोकेका थिए। योसँगै कार्यवाहक प्रधानमन्त्री वाग्लेले अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *