फ्लाई दुबईद्वारा पोखराबाट सीधा नियमित व्यावसायिक उडान सुरु
११३ यात्रु लिएर दुबईबाट आयो, १५३ यात्रु बोकेर फर्कियो
गण्डकी। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान औपचारिक रूपमा सुरु गरेको छ। उडान तालिका अनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखरामा सफलतापूर्वक अवतरण गरेको हो।
एक सय १३ जना यात्रु बोकेर आएको उक्त जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रूपमा ‘वाटर क्यानन सल्युट’ (पानीको फोहरा) ले भव्य स्वागत गरिएको थियो।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा ओर्लिएका यात्रुहरूलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी उच्च अधिकारीहरू तथा पर्यटनसँग सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरू विमानस्थलमै उपस्थित हुनुहुन्थ्यो।
नियमित तालिका अनुसार दुबईबाट आएको सोही जहाज पोखराबाट एक सय ५३ जना यात्रु बोकेर आजै साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए।
यसअघि केही अन्य वायुसेवा कम्पनीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडानको प्रयास गरे तापनि ती उडानहरू नियमित हुन सकेका थिएनन्। तर, फ्लाई दुबईले दैनिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि पोखराको पर्यटन र हवाई क्षेत्रमा नयाँ आशा र उत्साह छाएको उनले बताए।
पोखराबाट सीधा दुबई उडान सुरु भएसँगै अब यहाँबाट दुबई हुँदै युरोप, अमेरिकालगायत विश्वका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुहरूलाई यात्रा गर्न ठूलो सहजता थपिनेछ।
सीधा उडानले यात्राअवधि छोटिनुका साथै यात्रुको खर्चसमेत घट्ने महाप्रबन्धक निरौलाको भनाइ छ। यसका साथै, देशको पर्यटकीय राजधानी पोखरा र यस आसपासका पर्यटकीय क्षेत्रको भ्रमणका लागि आउने विदेशी पर्यटकहरू अब काठमाडौँ नआई सिधै पोखरा आउन सक्नेछन्।
वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक काम तथा घुमफिरका लागि खाडी मुलुकहरूसहित अन्य देश जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा-दुबई उडान अत्यन्तै लाभदायी हुने देखिएको छ।
विसं २०७९ पुस १७ (सन् २०२३ जनवरी १) देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको थिएन।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो। यसअघि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई दुबईपोखरा–दुबई उडानका लागि औपचारिक अनुमति दिएको थियो।
सरकारले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन र आकर्षित गर्न विभिन्न महसुलहरूमा छुट दिने निर्णय गरेको छ। जसअनुसार विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ। त्यसैगरी, ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) शुल्कमा पनि ५० प्रतिशत छूट दिने व्यवस्था गरिएको छ।
नियमित तालिका अनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण हुनेछ भने साँझ ७:१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।
विश्वव्यापी हवाई ट्रान्जिट हबको रूपमा रहेको दुबईसँगको सीधा उडानले पोखरालाई सीधा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ। फ्लाई दुबईले हाल विश्वका १२२० भन्दाबढी गन्तव्यहरूमा सीधा उडान भर्दै आएको छ।
यो उडान सेवा फ्लाई दुबई र विश्वचर्चित इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीअन्तर्गत सञ्चालन हुनेछ।
यस साझेदारीका कारण अब पोखराबाट अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरूमा यात्रा गर्ने यात्रुहरूले एउटै टिकटबाट सहजै यात्रा गर्न सक्नेछन् र अन्तिम गन्तव्यसम्म पुग्दा सामान तथा कनेक्टिङ उडानमा कुनै झन्झट नहुने बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment