सौराहाको ‘रोयल टुलिप चितवन’ले पायो पाँचतारे डिलक्सको मान्यता: आईपीओ निष्कासनको प्रक्रिया पनि अघि बढ्यो
काठमाडौं। चितवनको पर्यटकीय नगरी सौराहामा सञ्चालित लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले सरकारबाट ‘पाँचतारे डिलक्स’ स्तरको औपचारिक मान्यता पाएको छ।
केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित यस रिसोर्टलाई पर्यटन विभागको स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकन पछि उक्त स्तरीकरण प्रदान गरिएको हो।
कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। त्यसपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सत्कार र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। नेपाल सरकार, पर्यटन विभागले देशभरका होटलहरूमध्ये हालसम्म अन्य तीन वटा होटललाई मात्र यस्तो पाँचतारे डिलक्सको मान्यता दिएको छ।
स्थानीय संस्कृति र वातावरणलाई विशेष प्राथमिकता दिइएको यस रिसोर्टमा काठ-फर्निचर, ढुङ्गा, टायल, जुटबाट निर्मित गलैँचा, स्थानीय मान्द्रो तथा स्थानीय कलाकारले काठमा गरेका पेन्टिङ र सजावटका सामानको व्यापक प्रयोग गरिएको छ।
निरीक्षणका क्रममा पुगेका अधिकारीहरूले रिसोर्टले अत्याधुनिक प्रविधिसँगै वातावरणमैत्री संरचना र नेपालीपनको प्रयोग गरी आतिथ्यताको नयाँ मानक स्थापित गरेको भन्दै प्रशंसा गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनार तथा जनकौली र कुमरोज सामुदायिक वनको मध्यभागमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू रहेका छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याड तथा रिभोल्भिङ (घुम्ने) रेस्टुरेन्ट लगायतका सुविधाहरू छन्।
साथै नेपालमै पहिलोपटक ‘तनावी बार’ र मध्यरात्रिको मनोरञ्जनका लागि छुट्टै ‘स्पोर्ट्स बार’ समेत सञ्चालनमा ल्याइएको छ। यस रिसोर्टको व्यवस्थापन अन्तर्राष्ट्रिय होटल समूह ‘लुभ्र होटल्स ग्रुप’ अन्तर्गतको ‘रोयल टुलिप’ ब्रान्डसँगको सम्झौता अनुसार भइरहेको छ।
सन् २०२५ जुलाईदेखि ‘सफ्ट ओपनिङ’ गरी डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यस रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको छ।
यसैबीच, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रियासमेत अघि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कुल १५ करोड ५० लाख रुपैयाँ बराबर) आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा आवेदन दिइसकेको छ।
आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ। आईपीओ निष्कासनपछि कम्पनीको ऋण-स्वपूँजी (Debt-Equity) अनुपात ६१.५ : ३८.५ कायम हुने प्रक्षेपण गरिएको छ।
२०८१ असार २५ गते प्राइभेटबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा सीईओ रामेश्वर शाहले गरिरहेका छन्। रोयल टुलिप चितवनको यो उच्च स्तरीकरणले चितवनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न ठूलो सहयोग पुग्ने विश्वास पर्यटन व्यवसायीहरूको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment