राप्तीमा पक्की तटबन्ध बनेपछि तटीय बस्तीमा घट्यो बाढीको त्रास
राँझा (बाँके)। बाँकेको राप्ती नदीमा निर्माण गरिएको पक्की तटबन्धका कारण नदी तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिन बाढी र कटानको जोखिमबाट सुरक्षित हुँदै गएका छन्। वर्षौँदेखि राप्ती नदीको कटान र डुबानको त्रासमा रहेका स्थानीयवासीले तटबन्ध निर्माणसँगै राहत महसुस गर्न थालेका छन्।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि सञ्चालन गरेको कार्यक्रमअन्तर्गत बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रका जोखिमयुक्त स्थानमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ। तटबन्धका कारण सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबाससमेत सुरक्षित बन्दै गएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीले बताए।
उनका अनुसार गत आर्थिक वर्षमा मात्रै बाँकेका विभिन्न जोखिमयुक्त स्थानमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो। राप्ती नदीको तीव्र बहावका कारण हरेक वर्ष हुने कटान र डुबानबाट उर्वर जमिन तथा बस्ती जोगाउन आयोजनाले उच्च प्राथमिकताका साथ नदी नियन्त्रणका संरचना निर्माण गरेको हो।
गत आवमा राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा एक हजार २०० मिटर र वडा नं. ५ बिनौनामा एक हजार ३०० मिटर पक्की तटबन्ध निर्माण गरिएको छ। त्यसैगरी वडा नं. ७ खल्ला झगडियामा ५०० मिटर र वडा नं. ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको छ।
तटबन्ध निर्माण भएपछि यस वर्ष राप्तीसोनारी–२ का कचनापुर, महादेवा र मदुई, वडा नं. ६ को फत्तेपुर, वडा नं. ७ को खल्ला झगडिया तथा नरैनापुर गाउँपालिकाका वडा नं. ५ र ६ अन्तर्गतका बस्ती बाढीको जोखिमबाट तुलनात्मक रूपमा सुरक्षित भएका छन्।
आयोजनाले गत आवमै राप्तीसोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कामसमेत गरेको थियो। चालु आर्थिक वर्षमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ। नयाँ संरचना निर्माणका लागि अहिले विभिन्न स्थानमा ढुङ्गा सङ्कलन तथा आवश्यक प्राविधिक तयारी भइरहेको आयोजना प्रमुख छत्कुलीले बताए।
“यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ। तटबन्धका लागि ढुङ्गा जम्मा गर्ने काम भइरहेको छ,” उनले भने, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन्।”
तटबन्ध निर्माण हुनुअघि राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए। सामान्य वर्षा हुँदा पनि नदीको बहाव बस्तीमा पस्ने त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने गरेका थिए।
तर, यस वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धले नदीको बहावलाई सुरक्षित किनारतर्फ मोड्न सहयोग गरेपछि स्थानीयवासीको अवस्था केही सहज भएको छ। केही दिनअघि परेको भारी वर्षा र राप्ती नदीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया तथा नरैनापुरका वडा नं. ५ र ६ का बस्ती सुरक्षित रहन सफल भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए।
“खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ,” उनले भने, “पहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो। अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ।”
विगतका वर्षमा निर्माण गरिएका नदी नियन्त्रण संरचनाले सकारात्मक परिणाम देखाएपछि आयोजनाले चालु आर्थिक वर्षमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिएको हो। आयोजना प्रमुख छत्कुलीका अनुसार नयाँ चरणका तटबन्ध निर्माणका लागि निर्माणस्थलमा ढुङ्गा सङ्कलनलगायतका काम भइरहेको छ।
राप्ती नदीको कटान र बाढीबाट वर्षौँदेखि प्रभावित हुँदै आएका बाँकेका तटीय बस्तीमा तटबन्ध निर्माणले स्थानीयको घरबाससँगै खेतीयोग्य जमिन संरक्षणमा समेत महत्वपूर्ण सहयोग पुगेको छ। आगामी दिनमा जोखिमयुक्त अन्य क्षेत्रमा पनि तटबन्ध विस्तार गर्न सके बाढी तथा नदी कटानबाट हुने क्षति थप न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment