संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं। संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ।
बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछिन्।
बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्।
संसद् बैठकका अतिरिक्त आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment