अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै (भिडियोसहित)
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका छन्।
अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा सहयोग विस्तार, नेपालको पुनर्निर्माण, वित्तीय सुधार र नेपाललाई FATF को ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने बताइएको छ। साथै नेपालको बृहत् आर्थिक सुधारका विषयमा पनि छलफल हुनेछ।
हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद्पछिको उत्थानशील विकासका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई पनि अर्थमन्त्री वाग्लेको भ्रमणमा प्राथमिकताका साथ उठाइनेछ।
त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै नेपालमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने पहल गरिनेछ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी International Development Finance Corporation (DFC) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग समेत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको यो भ्रमणलाई नेपालमा पूर्वाधार विकास, निजी लगानी विस्तार तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment