मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको घुइँचो

डिसी नेपाल
१९ असोज २०८३ १०:३१

कास्की। विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ।

यस पदयात्रामार्गका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनमा आएसँगै पदयात्रामा निस्किने विदेशी पर्यटकको सङ्ख्या बढेको हो।

निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको छ। यसले गर्दा अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीहरूले जनाएका छन्।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० को हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लजहरू रहेका छन्, जसको कुल क्षमता ३५० जनासम्म पर्यटकलाई सेवा दिने रहेको छ।

“अहिले स्वदेशी पर्यटक नभए पनि विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन भने बढेको छ। यहाँ आउने सबै सडकहरू खुलेका कारण पदयात्रा निकै सहज बनेको छ,” गुरुङले बताए।

यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्गहरू प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो।

खास गरी अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समयसम्म सडक अवरुद्ध भएको थियो। स्थानीय गाउँपालिकाले झन्डै डेढ महिनाको प्रयासपछि असोज पहिलो साता मात्र उक्त सडक खुलाएको हो।

मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्गहरू पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसीलाई रोज्न थालेको सचिव गुरुङले जनाए।

“मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ। त्यसैले पनि दक्षिण एसियाली (सार्क) मुलुकका पर्यटकको रोजाइ एबिसीमा बढेको हो। नेपाली पर्यटकहरू भने दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ,” उनले भने।

अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध बनाएका सडकहरू सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ। सडक यातायात सुचारु हुनु र पदयात्रा मार्गको अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमनलाई बढावा दिएको हो।

अन्नपूर्ण-११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरादेखि घान्द्रुक हुँदै एबिसीसम्मको सबै सडक अहिले पूर्ण रूपमा खुला रहेको छ। कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

“बिरेठाँटी र स्याउली बजारको बाटो खुल्यो। घान्द्रुकबाट माथि पनि अब कुनै समस्या छैन। अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुला भइसकेका छन्। नयाँपुल, घान्द्रुक, छोमरुङ जुनसुकै ठाउँबाट पनि सहजै आउन सकिन्छ,” वडाध्यक्ष गुरुङले भने।

यसैगरी, दुई महिनाअघि किम्रुङ खोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको पदमार्गमा अहिले किम्रुङ खोलामाथि काठे फड्के (काठको अस्थायी पुल) निर्माण गरी पदयात्रा पुनः सञ्चालनमा ल्याइएको छ।

समुद्री सतहबाट करिब ४,१३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले विश्वकै चर्चित पदयात्रा गन्तव्य मानिन्छ।

विशेषगरी हिमालको नजिकैबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकनका साथै स्थानीय संस्कृति र जीवनशैलीको अनुभव लिन सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ।

यस पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय हिमाली जीवनशैली, हरियाली वन, झरना, खोलानाला र मनोरम हिमाली भू-दृश्यको प्रत्यक्ष अवलोकन गर्न पाउँछन्।

माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो। जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरू नजिकैबाट हेर्न सकिन्छ। अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो। यस केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या वा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीमार्फत तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ।

यसअघि एबिसी पदयात्रामा आउने पर्यटकहरू बिरामी पर्ने तथा उच्च उचाइ (हाई अल्टिच्युड)का कारण लेक लागेर ज्यानसमेत जाने गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *