यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

डिसी नेपाल
२७ असोज २०८३ १८:०८
4
Shares

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ।

यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्।

पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुका लागि खाजा, नास्ता र खाना खान रोक्न निर्देशन दिएको छ।

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन भनिएको छ।

खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।

त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको नम्बर १०० मा सम्पर्क गर्न सक्नेछन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत गुनासो गर्न सकिने विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *