५ दिनमै ट्रम्पले प्रेस सचिव पदबाट हटाएपछि केटी जकारियाले के भनिन् ?

डिसी नेपाल
१ कार्तिक २०८३ ११:१५
16
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जकारियाले ह्वाइट हाउसबाट आफ्नो पद छाड्ने भएकी छन्। जकारियाको पहिलो प्रेस ब्रिफिङलाई लिएर भएको व्यापक आलोचनापछि उनले पद छाड्ने अडकलबाजीहरू तीव्र बनेका थिए।

केटी जकारियाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्प एक दयालु, शानदार, विनम्र, अरूको ख्याल राख्ने, ऊर्जावान् र मेहनती व्यक्ति हुनुहुन्छ। अझ धेरै अमेरिकीहरूले उहाँको कदर गर्न सकेका भए! उहाँले अमेरिकालाई जसरी महान् बनाउनुभयो र आज पनि बनाइरहनुभएको छ, त्यसरी कसैले बनाउन सक्ने छैन। उहाँका लागि काम गर्न पाउनु मेरो लागि सम्मानको विषय थियो।’

जकारियाले मङ्गलबार ह्वाइट हाउसको प्रेस सचिवका रूपमा आफ्नो पहिलो प्रेस ब्रिफिङ गरेकी थिइन्। १५ मिनेटभन्दा पनि कम समय चलेको उक्त ब्रिफिङमा पत्रकारहरूले केवल तीन वटा मात्र प्रश्न सोधेका थिए। त्यसपछि उनले आफ्नो योग्यता र यस पदका लागि आवश्यक पूर्वतयारीलाई लिएर सञ्चारमाध्यमका तीखा प्रश्नहरूको सामना गर्नुपरेको थियो।

शुक्रबार उनले पद छाड्ने खबर सार्वजनिक हुनुभन्दा केही घण्टाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा सङ्केत गरेका थिए। ट्रम्पले भनेका थिए, ‘मैले उनलाई सोधेँ, ‘केटी, के यो काम तिम्रा लागि उपयुक्त छ? किनभने सत्य भन्नुपर्दा तिमीलाई यसको आवश्यकता छैन।”

ट्रम्पका अनुसार जकारियाले यस्तो व्यवहार सहनुपर्ने कुनै आवश्यकता छैन। सञ्चारमाध्यमले उनीप्रति निकै कठोर र अशोभनीय व्यवहार गरेको ट्रम्पको भनाइ छ।

केटी जकारियाको कानुनी योग्यतालाई लिएर पनि प्रश्नहरू उठिरहेका छन्। ट्रम्पले नियुक्तिका क्रममा उनलाई अधिवक्ता (वकील) का रूपमा परिचय गराएका थिए भने जकारिया स्वयंले पनि आफूलाई कानुन व्यवसायीका रूपमा प्रस्तुत गर्दै आएकी थिइन्।

जकारियाले सन् २०११ मा क्यालिफोर्नियास्थित पेपरडाइन विश्वविद्यालयबाट कानुनको अध्ययन पूरा गरेकी हुन्। तर अमेरिकामा कानुनको डिग्री प्राप्त गर्दैमा स्वतः वकालत गर्ने अनुमति वा लाइसेन्स प्राप्त हुँदैन। ‘वाल स्ट्रिट जर्नल’ का अनुसार जकारियाले क्यालिफोर्निया बार परीक्षा दिएकी थिइन्, तर उनी उत्तीर्ण हुन सकिनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *