‘इन्डिया र चाइना कार्ड’मा विश्वास गर्दैन बालेन सरकार, भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएका छौँ : सांसद हरि पन्त
वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वर्तमान सरकारले नेपाल-भारत सम्बन्धलाई सधैँ उच्च महत्त्व दिएको बताएका छन्। उनले साझा धार्मिक तथा सांस्कृतिक सम्पदाले दुई देशको सम्बन्धलाई थप जीवन्त बनाउँदै आएको स्मरण गर्दै बालेन सरकारले परराष्ट्र नीतिमा ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा पटक्कै विश्वास नगर्ने दाबी गरेका छन्।
नेपालको राष्ट्रिय हितलाई सधैँ केन्द्रमा राखेर छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्धलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पार्नुभयो।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले सोमबार वीरगञ्जको टाउन हलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवसम्बन्धी विशेष सांस्कृतिक समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले उक्त धारणा राखेका हुन्।
नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त विशिष्ट र ऐतिहासिक रहेको उल्लेख गर्दै सांसद पन्तले यो सम्बन्ध केवल राजनीतिक तथा कूटनीतिक दायरामा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक र सामाजिक आयाममा गहिरोसँग जोडिएको बताए। दुई देशबीच रहेका साझा धार्मिक धरोहर, परम्परा र चाडपर्वले जनता–जनताबीचको आपसी सम्बन्धलाई सधैँ प्रगाढ राखेको उनको भनाइ थियो।
भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस प्रकारका सांगीतिक समारोहले दुई देशबीचको सांस्कृतिक सहकार्य र सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरे।
भारतीय महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतको नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको कलाकार टोलीले आकर्षक सांगीतिक प्रस्तुति दिएको थियो।
कार्यक्रममा महावाणिज्य दूत मीनाले ‘वन्दे मातरम्’ गीतको ऐतिहासिक पृष्ठभूमि, यसको सांगीतिक तथा राष्ट्रिय महत्त्वबारे प्रकाश पारेका थिए। नेपाल र भारतबीचको जनस्तरको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व तथा भारतीय सांस्कृतिक प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment