काम गर्ने स्थान खाली नहुँदा ढल निर्माण अन्योलमा
भक्तपुर । हनुमन्ते नदीको दायाँबायाँ ढल निर्माणका लागि गरिएको ठेक्का सम्झौताको अवधि करिब १० महिना बाँकी रहँदा अझै काम गर्ने स्थान खाली हुन सकेको छैन । विसं २०२१ को नापीअनुसार नदी कायम भएको स्थानमा अहिले घरलगायतका संरचना बनेका छन् । त्यसैले नदी अहिले बगिरहेको स्थानलाई मानेर ढल निर्माण गर्ने कि पहिले भएको स्थानमा कायम गराएर निर्माण गर्ने भनी अन्योल रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक भोजविक्रम थापाले बताए।
हनुमन्ते नदीमा २५ किलोमिटर ढल निर्माण गर्न सम्झौता भएकामा १६ किलोमिटर क्षेत्रमा निर्माण अघि बढे पनि झण्डै नौ किलोमिटर क्षेत्रमा समस्या रहेको छ । उनले भने, “बालकुमारीदेखि सागबारीको तल्लो क्षेत्रमा यस किसिमको समस्या रहेको छ ।” यस स्थानमा ढल निर्माणका लागि स्थानीयवासी र स्थानीय तहबाटसमेत आवश्यक सहयोग नभएको आयोजनाले जनाएको छ । ‘साइट’ पाउँदा काम तुरुन्त सम्पन्न गर्न सकिने भए पनि अहिले काम अघि बढ्न नसकेको निर्देशक थापाले बताए ।
आयोजनाले काठमाडौँ उपत्यकाका नदी किनारामा ढल निर्माणको काम गरिरहेको छ । शहरी विकास मन्त्रालयले नदी किनारामा नै हरियाली क्षेत्र छुट्याएर करिडोर निर्माणलाई अघि बढाएको छ । मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा करिडोरलाई हेरिए पनि ढल निर्माण नहुँदा सडक पनि अन्योलमा छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment