कुवेतमा मृत्यु भएका ४ नेपालीको पहिचान, २ को बाँकी

डिसी नेपाल
१ फागुन २०७६ २१:३६

काठमाडौं। कुवेतको सीजीजीसी कम्पनीमा भएको दुर्घटनामा परी मृत्यु भएका ६ जना नेपाली मध्ये ४ जनाको पहिचान खुलेको छ। कुवेतस्थित नेपाली दूतावासले बिहीबार बेलुका प्रेस विज्ञप्ति जारी गरी मृतकहरुको परिचय खुलेको जानकारी दिएको हो।

दूतावासका अनुसार मृत्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्।
मृत्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि काममा फर्केका छन्।

कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु बुधवार दुर्घटनामा परेका थिए ।

सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ । यही कम्पनीमा कार्यरत अर्घाखाँचीका एक युवाका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन् ।

उनका अनुसार दुर्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् ।

जानकारीअनुसार ढलको पाइप बिच्छ्याउने तेन्जर मेसिनले ४र५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए । त्यसैको १ मिटरको ग्यापमा सोही किसिमका अर्को नाला खनेर भर्खरै पुरिएको थियो । फुकुवा माटोले भर्खरै पुरिएको नाला र अहिले खनिएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले दबाब धान्न नसकेपछि पहिरो गएको थियो ।

‘हाम्रै कम्पनीमा हो दुर्घटना भएको । तर, अर्को ५ नम्बर ब्लकमा हो । घटना भएपछि कसैलाई त्यहाँ जान दिइएको छैन’ उनले भने ‘८ जना नेपाली परेको भन्ने सुनेका छौं । तर, को को परे भन्ने अहिले सम्म थाहा भएको छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *