शेयर बजार सम्बन्धी ज्ञान नभएर हल्लाको भरमा पर्दा लगानीकर्ता अफ्ठेरोमा

डिसी नेपाल
२ फागुन २०७६ १९:४०

काठमाडौं । धितोपत्र बजारको नीतिको कारणले मात्रै शेयर बजारमा कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने विज्ञहरुले बताएका छन् । पूँजी बजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले धितोपत्रका नीतिका कारण कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने बताएका हुन् ।

विश्लेषक अनलराज भट्टराईले पछिल्लो समय धितोपत्रका नीतिका कारण लगानीकर्ताले गुमाएको भन्दै विरोध हुने गरेको उल्लेख गर्र्दै त्यसको असर कारोबारमा नपर्ने भट्टराईले बताए । उनले सबै लगानीकर्तासँग शेयर बजार सम्बन्धी ज्ञान बराबर नहुने उल्लेख गर्दै पछिल्लो समय बजारमा वास्तविक तथ्यले भन्दा हल्लाले बढी काम गरेको बताए ।

त्यस्तै, लगानीकर्ताहरुले पनि बजारमा अन्योल र अस्थिरताको अवस्था रहेको बताएका छन् । बजारमा वास्तविक विषयमा जानकारी नहुने तर हल्लाले बढी काम गर्ने भएकाले लगानीकर्ता स्थिर हुन नसकेको बताएका छन् ।

बैंकर विनोद पन्तले बैंकहरुले संस्थापक शेयर र साधारण शेयरमा ६५ प्रतिशत कर्जा दिन पाउने भएपनि सबै बैंकले पालना नगरेको बताए । उनले कतिपय बैंकले साधारण शेयरमा कर्जा दिने संस्थापकमा सजिलै नदिने कुनैले संस्थापकमा सजिलै दिने र साधारणमा नदिने प्रवृतिले गर्दा पनि बजारमा प्रयाप्त तरलता नहुँदा बजार अस्थिर जस्तो देखिएको बताए ।

नेपाल धितोपत्र वोर्डका निर्देशक नारायणप्रसाद शर्माले शेयर बजारको सुधारका लागि वोर्डले विभिन्न नीतिहरुको निर्माणमा तिब्रता दिएको बताए । तरपनि बजारको क्षमता विकास, प्रविधिको प्रयोग, दोस्रो बजारको पहुँचको वृद्धि, वित्तीय साक्षरता वस्तु विनिमय बजारलाई प्रवेश गराई नियमन गर्नुपर्ने लगायतका चुनौति रहेको उनले बताए ।

निर्देशक शर्माले वोर्डको प्राथमिकतामा अहिले पनि संस्थागत क्षमतामा अभिवृद्धि गर्ने र धितोपत्र सम्बन्धी कानूनहरुमा सुधार गर्दै जाने र बजारको पहुँच बढाउँदै लगानीकर्ताको संख्या वृद्धि गर्दै जाने विषहरु रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *