ट्राफिक लेडीसँग त्यो एक घण्टा
काठमाडौँका सडकमा सधैँ जाम। अनि हामीलाई सधैँ हतार। मलाई पनि त्यस्तै ।
समय निचोरेर बाइक समायो । घरबाट फुत्त निस्कियो। थोरै समयमा धेरै टाढा पुग्नु पर्ने । काठमाडौँको जाम छिचोल्दै हिँड्नु यहाँ धेरैको बानी भइसक्यो । मलाई पनि त्यस्तै ।
त्यो दिनको कुरा हो जुन दिन मलाई सधैँ झैं अफिस पुग्न हतार थियो। सडक सवारीले भरिभराउ । धेरै समय लाग्यो त्रिपुरेश्वर–थापाथलीको जाम खुलेन। अलिकति सर्यो अनि झ्याप्प ब्रेक लगायो। मैले पनि जाम छिचोल्न त्यसै गरेँ ।
आकाशमा घाम छाया खेलिरहेका थिए। कहिले घाम झुल्किन्थ्यो त कहिले छाँया। लाग्थ्यो घाम छाँयाले लुकामारी खेलेर जाममा परेका यात्रुलाई जिस्काइरहेका छन्।
मेरो फोन घरी–घरी बजिरहेको थियो। सडकमा भएकाले मैले फोन उठाइन । पक्कै यो फोन मलाई चाडो बोलाउन होला । मैले अनुमान गरेँ।
बारम्बार फोन बजिरह्यो। म झन् हतारिएँ । त्यसपछि लेन मिचेरै हुंइकिएँ । ८, १० वटा सवारी नछिचोल्दै टीँटीँ…झ्याप्प ब्रेक लाग्यो।
मेरो अगाडि लेनमै ट्राफिक लेडी थिइन्। विपरित दिशाबाट हुइकँदै थियो टिपर।
मेरो बाइक रोकिन नपाउँदै रिसले चुर बन्दै लेडी ट्राफिक मेरो नजिकै आइन् र झ्याप्प चापी थुतिन् ।
म हतासिएँ … सरी म्याम । अब गर्दिन म्याम । पहिलो पटक हो । आज साह्रै हतार थियो। मैले बिन्ती बिसाएँ । उनले सिधै इन्कार गरिन्।
गोरो वर्ण, अग्लो कद, दाइने काँधमा पहेँलो तारा । बल्ल चिनेँ उनी ‘ट्राफिक असई’ रहिछिन्।
000 000 000
धेरै बिन्ती गरेँ। उनको हातबाट चाबी फुत्किएन्। जाम त झनै कडा भयो। ट्याँ ट्याँ… टुँ टुँ… हर्न बजिरहे।
मैले लाखौँ बिन्ती गरेँ। उनी झन् झर्किदै त्रिपुरेश्वर चोकतिरै लागिन्। त्यसपछि म अत्तालिए। जाम खुल्नै लाग्यो। म बाइकबाट फुत्त झरेँ । अनि अरुलाई छुँदै र सवारीसँग धस्सिँदै बाइक ठेलेरै साइट लगाए र उनकै पछिपछि दगुरेँ।
मोबाइलमा घण्टी बजिरहेको थियो। हेरेको घडीले साढे १० हानिसकेछ । म उनको नजिकै पुगेँ। उनी दाहिँने हात हल्लाउँदै थापाथली र रत्नपार्कका गाडी वारपार भगाउदै थिइन्। मलाई पुलुक्क हेरिन् र हातको इसाराले भनिन्, पखपख …
मन अत्तालिएको छ। अफिस जान झनै हतार । तर पनि म मौन भएँ।
000 000 000
… एकै छिनपछि उनी नजिकै आइन् र हवलदारलाई भनिन्, “हवलदार १० हजारको चिट काट्।”
१० हजार उनको बोलीले म झस्किएँ।
हवलदारले भने, “नयाँ नियम लागेको थाहा छैन् ? लाइसेन्स, बिलबुक दिनुस् ।”
म अक्क न बक्क पर्दै भने, ‘सरी सर।। एक पटकलाई छोडी दिनुस् ।’
हाम्रो भलाकुसारी चलिरह्यो …
000 000 000
त्यो देखेर उनी फेरि नजिक आउँदै भनिन्, अझै चिट काट्या छैन ?
हवलदारले छैन भन्ने इसारा गरे । त्यसपछि उनी लम्किदै म भएतिर आइन्।
… के भयो ? भित्रै बस्ने मन छ ?
उनको बोलि सुन्नासाथ मैले फेरि उहि बाक्य दोहोर्याएँ “सरी म्याम, गल्ती भयो एक पटकलाई छोडिदिनुस् न।”
म उनको सामु बिचरो बनेर बिन्ती गरिरहेँ।
सायद उनको मन पनि केही पग्लिएछ क्यारे । उनी अल्ली नरम भएर भनिन्, “म सँग आउनु ।”
त्यसपछि उनी अघि लागिन् । म पछिपछि …
अब के गर्नलाई होला । मनमा अनेक प्रश्न खेल्दै थिए। केही मिनेटमै उनको अफिस अर्थात ट्राफिक कार्यालय त्रिपुरेश्वर पुगियो।
000 000 000
केही बेरमा,
उनले बस्न इसारा गरिन्।
त्यसपछि एक प्याला चिया खाँदै आफूले ल्यापटममा केही खोजे जस्तो गरिन्।
केही बेरमा उनले मलाई एउटा भिडियो देखाइन्।
सूर्य विनायक–तीनकुने जस्तो देखिने सडकमा नेपालकै महंगो बुलेट बाइक हुइँकदै आयो । हेर्दै डन जस्ता लाग्ने करिब ३०, ३२ वर्षका युवकले बाइक कुदाउँदै आए।
लाग्थ्यो, सबै सडक उनकै हो।
घरी दाँया, घरी बाँया नेपालीको डाङ्डुङ्गे ‘ड’ जस्तो … भुटुटु … भुटुटु …
000 000 000
त्यसपछि एक्कासी झर्याम्म … कम्प्युटरकै स्क्रिन फुटेजस्तो लाग्यो। मेरो ध्यान झन् त्यता केन्द्रित भयो।
के पड्कियो भनेर उत्सुक हुँदै हेरेको एकाएक झसङ्ग भए।
कम्प्युटर भनेको त स्क्रिनमा टिपर देखियो। कच्याककुचुक फुटेको सिसा। फुटपाथतिर सोझिएको टिपर …
मेरो आँखाले अघिकै बाइक खोज्यो। कता गयो ? के भयो ?
सोच्न नपाउँदै ट्राफिक लेडीको आवाज आयो, “उ हेर्नुहोस् अघिको बाइक”
‘बा.. बा.. ! अनि मान्छे ?’ मैले सोधेँ ।
उनले, औँलाले देखाउँदै भनिन्, “ऊ रेलिङको तलतिर हेर्नुस् ।”
अघिको साँढे जस्तो बाइक त अहिले धुलोपिठो पो भएछ । म भावुक भएँ । मेरो कमलो मन दुख्यो र आँखा टिल्पिल भए ।
यस्सो आँखा घुमाएँ, ट्राफिक लेडी त घुवाँक्क घुवाँक्क रुन पो थालिन् ।
म आश्चर्य चकित भएँ, यो भिडियो हेरेर किन रोईन ?
मैले सोधेँ, के भयो म्याम ?
उनको निन्याउरो जवाफ पाएँ, “उ मेरो भाइ हो । अकालमै मर्यो ।”
मैले फेरि सोधेँ । ‘आफ्नै भाइ ?’
“एउटै कोखबाट जन्मेको, एउटै लाम्टो चुसेको भाइ । तर ३० वर्षमै छोडेर गयो ।”
म अक्मकाएँ …
उनले भनिन्, “३ वर्ष भयो भाइ गएको पनि । म सडकमा कडा हुन्छु । सवारी चालकलाई गाली गर्छु । कोही अकालमा नमरुन् भन्ने लाग्छ ।”
घरमा दुई छोरी र बुढा बा, आमा छन् । अब कसले हेर्ने ?
मैले सोधेँ, ‘अनि बुहारी छैनन् र ?’
उनी झन् भावुक भइन् ।
‘सुस्केरा हाल्दै भनिन्, बुहारी पनि आफ्नो बाटो लागि ।’
ओहो ! कसरी म्याम ?
भाइको दुर्घटनामा ज्यान गएपछि विक्षिप्त भएकी बुहारी पनि ९ दिनमै झुण्डिएर मरी ।
उनको कुराले म अतालिएँ, भक्कानिएँ …
उनको भाइको ठाउँमा आफैँलाई राखेँ र हेरेँ ।
मेरा बाबुआमा, दिदी बहिनी, अनि भर्खरै बिहे गरेकी पत्नी ।
यदि त्यो दर्घटनामा मै परेको भए । परिवारको हालत के होला ? तनावकै बीच पनि कुल भएँ । धन्न म अहिलेसम्म त्यसमा परिन ।
‘अँ सुन्नुस् त’ उनी बोलिन्, ‘अब जानुहोस्’
म झस्किएँ, घडीले ११ः४० हानेछ … तर पनि अब मलाई हतार लागेन ।
अनि चिट् पर्दैन ? –सोधेँ ।
“मलाई एक घण्टा समय दिएर तपाईले जीवनको महत्व बुझ्नुभयो । एक पटकलाई भयो।”
म नतमस्तक भएँ र धन्यवाद म्याम भन्दै अफिसतिर हानिँए ।
000 000 000
केही दिनपछि
एक दिन बानेश्वर अफिसबाट घर फर्किँदै थिए । त्रिपुरेश्वर चोकनिर जेब्रा क्रसिङ्ग आडैमा सिस्ठी फुक्दै गरेकी तिनै ट्राफिक लेडीलाई देखेँ । म जामको लाइनमा बाइकमै अडिएर उनैतिर हेरिरहेँ ।
त्यो भीडकाबीचमै पनि केही बोलौँ–बोलौँ भयो । भेटेरै धन्यवाद दिन मन थियो । मैले उनलाई देखेपनि, उनले मलाई देखिनन् ।
जाम अलि सर्यो, म पनि उनैको नजिकै पुगेँ ।
बोलाउँ कि नबोलाउँ भयो ।
अनि आँट गरेँ र बोलाएँ, ‘हेल्लो म्याम’
उनले सुनिनन् ।
तर अघिल्लो बाईक वालाले मलाई ट्राफिकलाई बोलाको भनेर सोधे, ‘अँ’ टाउको हल्लाएँ ।
उनले हातको इसारा गर्दै ट्राफिक लेडीकोमा खबर पुर्याए ।
उनी सवारीलाई यता र उता पठाउँदै थिइन् ।
अचानक ! सडकको जाम खुल्यो ।
म पनि घर जान हतारिएँ ।
र हेल्डमेटको भाइजर खोल्दै उनलाई हात उठाएँ । हेल्लो म्याम । बाई।।। अहिले गएँ । शनिबार भेट्न आउँछु चिया खाने गरी।
उनले त बल्ल चिनिछन् ।
‘आर यू’ ? उनले हाँस्दै हात उठाइन् ।
“ओके ओके, यू आर वेलकम, टेक कियर ।”
त्यसपछि म लेन, जेब्रा क्रसिङ, चोकमा ध्यान दिँदै कलंकीतिर लागेँ ।
No ads found for this position


Excellent writing with a message of safety and humanity.
Binod Roka, New York