मैनारमा रु तीन करोडको सिँचाइ योजना

डिसी नेपाल
७ फागुन २०७६ २२:२७

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका– ३ मैनारमा लिफ्ट सिँचाइ योजनाको शिल्यान्यास गरिएको छ । आज प्रदेश नं ५ का भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले शिल्यान्यास गरे । कपिलवस्तुकै दुर्गम क्षेत्रमा रहेको उक्त गाउँमा सिँचाइको अभावले खेतीयोग्य जमिन बाँजो राख्नुपर्ने बाध्यता हटेको मन्त्री चौधरीले बताए । प्रदेशले सिँचाइका योजना सबै जिल्लामा सञ्चालन गरेको भन्दै उनले तोकिएको समयभन्दा छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

मन्त्री चौधरीले सिँचाइ र कृषिसँगै विकास हुन आवश्यक रहेको बताए । “मैनारमा सिँचाइको योजना आयो, अब कृषिमा किसानले मेहनत गर्न पर्छ”, उनले भने, “अहिले सरकारले कृषिमा ब्याज अनुदान दिने योजना बनाएको छ, अब ऋण लिएर कृषि गर्नुस्, सरकारले ब्याज अनुदान दिन्छ ।”

कार्यक्रममा संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले अब कृषिबाट क्रान्ति गर्नुपर्ने बताए । उनले चौधरी समुदायको बाहुल्यता रहेको मैनार गाउँलाई रमणीय गाउँकारुपमा विकास गर्न सकिने थुप्रै आधार रहेको बताए ।

शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले अब गाउँमा सिँचाइको सुविधा हुने भएकाले जीविकोपार्जनका लागि सहज हुने बताए । काम नपाएर बाहिर भौतारिएका गाउँका युवालाई सिँचाइ योजनाले रोजगारी सिर्जना गर्ने उनले उल्लेख गरे । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुर महोमद खाँले पानी नहँुदा किसानले कृषि उपज उत्पादनमा रहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

मैनार सिँचाइ लिफ्ट सिँचाइ योजना डेढ वर्षसम्ममा सम्पन्न गर्नुपर्नेछ । योजना निर्माणका लागि लागत अनुमान रु तीन करोड १६ लाख पाँच हजार ६९९ रहेको छ भने ऐशियाटिक हिमाल जेवी कम्पनीले दुई करोड २३ लाख २१ हजार ७७६ मा सम्झौता गरेको छ । ४५ घरधुरी रहेको मैनार गाउँमा उक्त सिँचाइ योजनाले ६६ हेक्टर जग्गा सिँचाइ गर्न सकिने सिँचाइ विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख नेत्रप्रसाद बोहोराले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.