आज बाडेगाउँमा श्वेतबाराही र कालभैरवको जात्रा

डिसी नेपाल
२७ फागुन २०७६ ९:०४

गोदावरी । गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ।

बाडेगाउँको जात्रा सकिएको चार दिनपछि गोदावरीको फूल्चोकीमाई र नौधारामा भक्तजनले पूजा गरी जात्रा विसर्जन गर्ने गर्छन्।

काठमाडौँ उपत्यकामा रहेका चार बाराहीमध्ये श्वेतबाराही सबैभन्दा राम्री, धनी र जेठी बाराही रहेको बाडेगाउँका ८९ वर्षीय पशुपति महर्जनले जानकारी दिए ।

उनले भने, “बज्रबाराही माइली, धुम्बाराही साइली र नीलबाराही कान्छी बाराही हुन् । श्वेतबाराहीको जात्रा लिच्छवीकालदेखि शुरु भएको भनिन्छ । जात्रामा बाजागाजासहित फूल्चोकी, गणेश र कालभैरवलाई तीनवटा खटमा राखी नगर परिक्रमा गरिन्छ।”

परापूर्वकालमा बाडेगाउँमा भूत, प्रेत, पिचास र राक्षसको बढी डर भएपछि यिनीहरुबाट मुक्ति पाउन जात्रा मनाउन थालिएको बताइएको छ।

मालपोत र गुठी संस्थानबाट जात्राका लागि सरकारी पूजा आउने गरेको ईश्वर बज्राचार्यले बताए । उनले भने, “थोरै रकम दिन्छ, जात्रामा चाहिने साम्रगी खरिद गर्न पुग्दै पुग्दैन ।” बाडेगाउँमा पाँच वटा गुठी रहेको हुँदा यस वर्ष ट गुठीलाई जात्रा मनाउने पालो परेको बज्राचार्यले जानकारी दिए ।

बाराहीको नाममा रहेको झण्डै १०० रोपनी जग्गामा हाल १० रोपनी पनि भेट्न मुस्किल भएको ट गुठीका गुठीयार बाबुकाजी महर्जनले जानकारी दिए ।

उनले भने, “सबैले जग्गा अलिअलि तान्दातान्दै श्वेतबाराही माताको नाममा रहेको सम्पत्ति घटिसक्यो । यस जात्रामा बाडेगाउँमा व्यवसाय गरेर बसेका मानिस पनि पूजा गर्न आउँछन् ।” हरेक वर्षको जात्रामा उपस्थित भई हाजिर गरेर जानेलाई बाडेगाउँको लाछीमा धान सुकाउन दिइने चलन रहेको बताइन्छ।

विगतमा अमरावतीपुर भनिने हालको टौखेलमा राजा सूर्योदयले ५१८ वर्षअघि राज्य गरेर बसेका थिए । राजा अति नै प्रजाप्रेमी थिए।

समयअघि बढ्दै जाँदा राजाको सन्तान भएनन् । राजाले आफ्नी जेठी रानी निमादेवीबाट सन्तान नभएपछि चित्रदेवी नामक युवतीसँग बिहे गरे।

चित्रदेवीबाट सन्तान भएपछि उनको सङ्गतले राजाको सम्पूर्ण बानी परिवर्तन हुँदै गयो । उनले आफ्ना प्रजाको वास्ता गर्न छाडे र जेठी रानीलाई पनि गोदावरीको घना जङ्गलमा लगेर छाडिदिए।

जेठी रानी र प्रजा दुवैलाई निकै दुःख भयो । यसैक्रममा वसुन्धरादेवी प्रकट भइन् । टौखेल र बाडेगाउँमा त्यसपछि अन्न उब्जनी हुन थाल्यो । देवीले गोदावरीको जङ्गलमा रानीलाई पनि भेटी दर्शन दिएको भनाइ बुढापाकाको रहेको छ।

महामञ्जुश्रीले गोदावरीको फूल्चोकीमा आएर फूल चढाएकोले फूल्चोकी रहन गएको कृष्णमुकुन्द महर्जनले बताए । उनले भने, “यसैको कारण बाडेगाउँमा फूल्चोकीमाईको जात्रा पनि मनाउने गरिएको हो।”

कालभैरवको जात्रा

आज बाडेगाउँमा कालभैरवको जात्रा पनि मनाइन्छ। बाडेगाउँका पुरोहित ईश्वर बज्राचार्यका अनुसार श्वेतबाराहीको जात्रासँगै कालभैरवको जात्रा मनाउने यहाँको पुरानो चलन हो।

रत्नकेतुको पालामा बाडेगाउँमा आलोक नामक राक्षस थियो । सो राक्षस पानीमा बस्थ्यो । समयअघि बढ्दै जाँदा दैनिक यो राक्षसले बच्चा चोरेर खान थाल्यो।

दैनिक बच्चा चोरेर खाने भएपछि बाडेगाउँमा डर र त्रास फैलियो । दिनानुदिन बच्चा हराउँदै गए । राजालाई आफ्नो छोरा पनि राक्षसले खान्छ भन्ने डर भयो।

राजाले राक्षस बोलाएर प्रत्येक दिन एउटा राँगा दिने वचन गरे । हरेक दिन आलोकलाई राँगा दिँदै जाँदा बाडेगाउँमा राँगाको पनि हाहाकार भयो।

राजालाई झन् चिन्ता थपिदै गयो । राजाले बुद्धको पार्थना गरे । बुद्धले राजालाई दर्शन दिए । राजाले बुद्धको दर्शन पाएपछि राक्षसलाई आग्रह गर्न सफल भए।

राक्षसले वर्षको एकपल्ट राँगा खाने वचन गरेअनुरुप हरेक वर्ष कालभैरवलाई राँगा दिने गरेको उनले बताए। भैरवलाई बलि दिँदा २४ थरिको व्यञ्जन पकाएर चढाउने परम्परा बाडेगाउँमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *